+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

नेपाल-स्पेन सम्बन्ध सुदृढीकरणको मार्गमा नयाँ राजदूत नेपाल

जनवाच
१ महिना अगाडी

काठमाडौँ। नेपाल र स्पेनबीचको कूटनीतिक सम्बन्ध थप सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गर्दै स्पेनका लागि नवनियुक्त नेपाली राजदूत शनिल नेपालले आफ्नो ओहदाको प्रमाणपत्र स्पेनका राजा फेलिपे छैठौंसमक्ष पेश गरेका छन्।

मंगलबार म्याड्रिडस्थित राजदरबारमा आयोजित विशेष समारोहमा प्रमाणपत्र प्रस्तुत गरेपछि राजदूत नेपालले राजा फेलिपेसँग नेपाल-स्पेन सम्बन्धका विविध पक्षबारे छलफल गरेका थिए। सो अवसरमा राजा फेलिपेले आफ्नो युवा अवस्थाको नेपाल भ्रमणको स्मरण गर्दै पुनः नेपाल जाने चाहना व्यक्त गरे। उनले नेपाल र स्पेनबीचको सम्बन्ध पछिल्ला वर्षहरूमा मजबुत हुँदै गएकोमा खुसी प्रकट गर्दै राजदूत नेपाललाई सफल कार्यकालको शुभकामना दिए।

राजदूत नेपालले राजा फेलिपेसँग द्विपक्षीय सम्बन्ध विस्तारका साथै नेपालमा भइरहेको विकास योजनाहरू, जलवायु परिवर्तनका प्रभाव, तथा अन्तरराष्ट्रिय सहकार्यको आवश्यकता लगायतका विषयमा जानकारी गराएका थिए। उनले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न स्पेनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग आवश्यक रहेको धारणा राखे।

यसअघि राजदूत नेपालले स्पेनको परराष्ट्र मन्त्रालयका दक्षिण तथा पूर्वी एसिया हेर्ने उपमहानिर्देशक गिलेर्मो अंगिरासँग भेटवार्ता गरेका थिए। सोही क्रममा उनलाई स्पेनको रोयल गार्डद्वारा सम्मान गारद अर्पण गरिएको थियो।

म्याड्रिडस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको जनाइएको छ। नेपाल सरकारको निर्णयअनुसार सन् २०१७ मा स्पेनमा स्थायी दूतावास स्थापना भइसकेको छ भने नेपाल र स्पेनबीच १९६८ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ