यसले बैंकिङ प्रणालीमा सन्तुलन कायम गर्न र मौद्रिक नीतिलाई प्रभावकारी बनाउन योगदान पुर्याउने विश्लेषकहरू बताउँछन्।
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न मंगलबार २५ अर्ब रुपैयाँ संकलन गर्ने तयारी गरेको छ। निक्षेप संकलन उपकरणमार्फत सो रकम तान्न लागिएको राष्ट्र बैंकले जनाएको छ।
बैंकका अनुसार फागुन १३ गते २२ दिन अवधिको निक्षेप संकलन उपकरणको बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन्।
राष्ट्र बैंकका अनुसार संकलित निक्षेपको साँवा र ब्याज भुक्तानी चैत ६ गते हुनेछ भने ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोडदेखि अधिकतम ५ अर्ब रुपैयाँसम्मको माग गर्न सक्नेछन्।बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंक समय-समयमा यस्तो निक्षेप संकलन प्रक्रिया अपनाउँदै आएको छ।