काठमाडौं । अन्ततः पोखरा विमानस्थलबाट पनि नियमित अन्तर्राष्ट्रिय उडान (कमर्सियल फ्लाइट) हुने भएको छ । निर्माण सम्पन्न भएको ठिक दुईपछि पछि पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमिति अन्तर्राष्ट्रिय उडान हुन भएको हो ।
हिमालय एयरलाइन्सले आउँदो मार्च ३१ देखि काठमाडौं–ल्हासा–पोखरा नियमिति साताको एउटा उडान गर्ने भएको छ । एयरलाइन्सले ‘एयरबस ३१९’ १४४ सिटे जहाजमार्फत काठमाडौं–ल्हासा, ल्हासा–पोखरा नियमित कमर्सियल फ्लाइट गर्न लागिएको जनाएको छ ।
साताको सोमबार काठमाडौंदेखि ल्हासा उड्ने जहाजले सोही दिन ल्हासबाट पोखरा उडान भर्नेछ । अर्को दिन सोही विमानबाट पोखरा–ल्हासा उडान हुनेछ । पहिलो पटक पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने लागेको एयरलाइन्सले अकुपेन्सी (यात्रु) अनुसार उडान थप्ने जनाएको छ ।
चिनियाँ लगानीमा नै निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुस १७ गतेदेखि सञ्चालनमा आएको हो । तर, हालसम्म यस विमानस्थलले चार्टर फ्लाइट बाहेक एउटै नियमित उडान पाउन सकिरहेको थिएन । अब भने हिमालय एयरलाइन्सले नियमित अन्तर्राष्ट्रिय उडान भर्ने भएसँगै अरु हवाई कम्पनीहरुलाई पनि पोखराबाट व्यवसायिक उडान गर्ने बाटो खुलेको छ ।