काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इजरायलबीच सूचना प्रविधी लगायतका क्षेत्रमा लगानीका लागि सहकार्य गर्ने सहमति भएको छ । इजरायलमा शान्ती स्थापना भएसंगै सूचना प्रविधि, कृषि, पर्यटन एवं हस्पिटालिटी लगायतका क्षेत्रमा रोजगारीका लागि सहकार्य गर्ने सहमति भएको हो ।
चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बासबीच यसअघी भएका सहकार्यलाई निरन्तरता दिएर नेपालमा थप लगानी विस्तार गर्ने सहमति भएको हो ।
इजरायलको कृषि, सूचना प्रविधि नेपालमा भित्र्याउने बारेमा अध्यक्ष अग्रवालले राजदूत बाससंग आग्रह गरे । अध्यक्ष अग्रवालले भने, ‘इजरायलमा भर्खरै युद्ध विराम भई शान्ति स्थापना भएको छ ।’ सरकारको पढ्दै कमाउँदै कृषि कार्यक्रम, घरेलु कामदारमा इजरायलमा जाने नेपालीलाई निरन्तरता दिन एवं हस्पिटालिटी निर्माण क्षेत्रमा समेत नेपाली कामदारहरुलाई रोजगारी दिन अध्यक्ष अग्रवालले राजदूत बाससंग आग्रह गरे ।
नेपालको जलविद्युत, पर्यटन, होटल लगायतका क्षेत्रमा इजरायलेको लगानीका लागि समेत अध्यक्ष अग्रवालले आग्रह गरे । नेपालमा हालै संशोधन गर्न लागिएका कानूनहरुले लगानीको वातावरण सहज भएकाले नेपाल चेम्बर र इजरायलका व्यवसायीहरुबीच बी टु बी माध्यामबाट लगानीका अवसरहरु खोज्नुपर्ने अध्यक्ष अग्रवालको भनाई छ ।
चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले इजरायल र नेपालबीच आईटी क्षेत्रमा लगानीको वातावरण बनाउनुपर्ने बताए । उनले अन्य देशको तुलनामा नेपालको सूचना प्रविधिजन्य व्यवसायमा जनशक्ति सस्तो र भौगोलिक दृष्टिकोणले उपयुक्त भएको बताए ।
चेम्बर पदाधिकारीसंगको भेटका क्रममा राजदूत बासले नेपाल जस्तो देशमा सहकार्य गर्न पाउँदा आफु निकै खुसी भएको प्रतिकृया दिनुभयो । इजरायल सरकार नेपालसंग घरेलु कामदार, कृषि संगै अन्य क्षेत्रको श्रमिक लैजानका लागि पनि सम्झौता गर्न तयार रहेको बताए । इजरायलको न्यूनतम ज्याला नै १६ सय अमेरिकी डलर रहेकाले त्यसको लाभ नेपालले लिनुपर्ने उहाँको भनाई छ । दुवै देशका लगानीकर्ताबीच भेटघाट र छलफलका लागि सहजिकरण गर्ने राजदूत बासले बताए ।