काठमाडौं । लोकप्रिय ब्राण्ड केईको ‘केई एक्स३ प्रो–ईभी’ मोडल अब शून्य प्रतिशत फाइनान्सिङ सुविधामानै किन्न पाइने भएको छ । नेपालका लागि केईको आधिकारीक बिक्रेता जीओ अटोमोबाइलले आफ्नो केई एक्स३ मोडलका लागि सून्य प्रतिशत ब्याजदर अफर ‘स्कीम’ ल्याएको हो ।
योसँगै अब केई एक्स३ प्रो–ईभी किन्ने ग्राहकले ५ वर्षसम्म विना ब्याजको फाइनान्सिङ सुविधा पाउनेछन् । केई एक्स३ प्रो–ईभीको बजार मूल्य ५२ लाख ९६ हजार रुपियाँ रहेको छ । कम्पनीले दिएको सुविधा अनुसार अब यस मोडल किन्ने ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट तिरेर बाँकी रकम किस्तामा त्यो पनि विना ब्याज ५ वर्षसम्म भूक्तानी सुविधा पाउनेछन् ।
गाडी किन्ने ग्राहकले शुरुमा १० लाख ५९ हजार रुपियाँ डाउन पेमेन्ट गर्नुपर्छ । बाँकी ४२ लाख ३६ हजार ८०० रुपियाँ फाइनान्सिङ सुविधा पाउने ग्राहकले पाँच वर्षमा विना ब्याज मासिक ७० हजार रुपियाँ किस्ता बापतको सुविधा पाउनेछन् ।
१२० किलोवाटको इलेक्ट्रीक मोटर पावरसहित ५३.६ किलोवाट ब्याट्री प्याकमा उपलब्ध केई एक्स३ प्रो–ईभीले सिंगल चार्जमा ३७० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।