काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निस्काशित महामन्त्री मुकुल ढकाललाई पुरानै जिम्मेवारीमा फर्काउन प्रदेश सभापतिहरुले लभिङ शुरु गरेका छन् । पार्टीको कोशी प्रदेश सभापति राजेश तिम्सिना र मधेश प्रदेशका सभापति तपेश्वर यादवले ढकाललाई तत्काल महामन्त्रीमा फर्काउन कार्यवाहक सभापति डीपी अर्याललाई पत्र लेखेका हुन् ।
ढकाललाई महामन्त्रीबाट निष्काशन गरेपछि पार्टी झनै कमजोर भएको बताउँदै प्रदेश सभापति द्वयले उनलाई पुनः पार्टीमा फर्काउन आग्रह गरेका हुन् ।
उनीहरुले यसअघि ढकाललाई हटाउने निर्णयमा समर्थन गर्दै तत्कालीन समयमा गरेको हस्ताक्षर समेत फिर्ता लिएको बताएका छन् । उनीहरूले पार्टीले अबलम्बन गरेको नीति ‘राइट टु रिकल’को प्रयोग गरेर आफूले पुरानो सहमतिलाई फिर्ता लिएको उल्लेख गरेका छन् ।
रास्वपाले असारमा संस्थापक महामन्त्री एवम् प्रवक्ता ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको थियो ।