काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद फेरि निलम्बन भएको छ । यसअघि नागरिकता केशमा सांसद पद निलम्बनमा परेर पुनः उपनिर्वाचबाट संसद फर्किए सभापति लामिछानेको पद सहकारी ठगी तथा सम्पत्ति शुद्धीकरणको मुद्दाले फेरि गएको हो ।
पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई सभामुख देवराज घिमिरेले निलम्बन गरेका छन् । लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको जानकारीपत्र प्रहरीले सभामुख देवराज घिमिरेलाई आइतबार साँझनै पत्र पठाएको थियो ।
उक्त विषयमा केही निर्णय दिँदै सभामुख घिमिरेले निलम्बनको पत्र टाँस गरेका हुन् । प्रतिनिधिसभा नियमावली अनुसार संसद् अधिवेशन नरहेको अवस्थामा निलम्बनको पत्र टाँस गर्नुपर्ने व्यवस्था रहेको छ ।
प्रचलित कानुन बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ भन्ने व्यवस्था रहेको सो कानुनी व्यवस्थाको प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएको छ‚’ संसद् सचिवालयले टाँस गरेको सूचनामा लेखिएको छ ।