काठमाडौं । स्थानीय तहको उपनिर्वाचन थ्री लेयर अर्थात् तीनवटा सुरक्षा घेरामा भइरहेको छ । आइतबार बिहान ७ बजेदेखि शुरु भएको विभिन्न पालिकाको ४१ रिक्त पदमा जति निर्वाचन केन्द्र तोकिएका छन् ती सबै निर्वाचन केन्द्रको सुरक्षामा तीनवटै सुरक्षा निकाय (बल) ले पहरेदारी दिइरहेका हुन् ।
निर्वाचन केन्द्रको पहिलो घेरामा जनपथ प्रहरी खटाइएको छ भने दोस्रो घेरामा सशस्त्र प्रहरी र अन्तिम अर्थात् तेस्रो घेरामा नेपाली सेनालाई सुरक्षामा खटाइएको छ । स्थानीय तह उपनिर्वाचन स्वच्छ, मर्यादित र भयरहित ढंगले सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको निर्वान आयोगले जनाएको छ ।
आवश्यकता अनुसार सादा पोशाकमा विशेष प्रहरी समेत परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
आइतबार बिहान ७ बजेदेखि शुरु भएको स्थानीय तह उपनिर्वाचनमा नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भइरहेको छ । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी ३७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।