काठमाडौं। डेडिकेटेड र ट्रंक लाइन विवादमा उद्योगहरुको काटिएको लाइन जोड्ने नजोड्ने सन्दर्भमा छलफल गर्न आज पुनः नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठक बस्ने भएको छ । सरकारले आइतबार लाइन काटिएका उद्योगहरुमा तत्काल लाइन जोड्ने निर्णय गरेपनि सोमबार मात्र प्राधिकरणमा पत्र पठाएको थियो । हिजो सोमबार नै प्राधिकरणको बोर्ड बैठक आह्वान गरिएपनि गणपुरक संख्या नपुगेपछि छलफल हुन सकेन । तर, सोही निर्णयका लागि आज फेरि बोर्ड बैठक बोलाइएको हो ।
प्राधिकरणका अनुसार आज बिहान साढे ११ बजेका लागि बोर्ड बैठक बोलाइएको छ।
मन्त्रिपरिषद्ले आइतबार गरेको निर्णय कार्यान्वयनका विषयमा छलफल गर्न सोमबार पनि बैठक बसेको थियो । सो बैठकमा डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन जोड्ने विषयमा सहमति जुट्न सकेको थिएन ।
मन्त्रिपरिषद्को बैठकले गत आइतबार टीओडी मिटरका आधारमा १५ दिनभित्र बक्यौता उठाउने निर्णय पनि गरेको थियो । आजको बोर्ड बैठकमा यही विषयमा छलफल हुन लागेको हो ।