काठमाडौं, जेठ ११ —साहित्य र विचारको संगम प्रस्तुत गर्ने उद्देश्यले लेखिएको साहित्यकार कल्पना रिजालको नयाँ उपन्यास ‘डाँफे’ काठमाण्डौमा एक भव्य समारोहबीच लोकार्पण गरिएको छ। उपन्यासले पूर्वीय दर्शन, शान्ति, प्रकृति र राष्ट्रियताजस्ता गहिरा विमर्शहरूलाई साहित्यिक भाषामा प्रस्तुत गर्दै समकालीन नेपाली समाजको जटिलता उजागर गर्न खोजेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपन्यासको सार्वजनिक विमोचन गरियो। मन्त्री पन्तले राम्रो लेखक बन्न राम्रो पाठक बन्नु जरुरी रहेको बताउँदै, प्रत्येक साहित्यिक कृतिको आफ्नो विशेष दृष्टिकोण र मूल्य हुने उल्लेख गरे। कार्यक्रममा अग्रज साहित्यकार भागिरथी श्रेष्ठले ‘डाँफे’को भाषा, संरचना र भावभूमिलाई विश्लेषण गर्दै लेखक रिजालको शैलीलाई निर्भिक र स्वतन्त्र चेतनाका रूपमा प्रशंसा गरिन्। उनले उपन्यास पढ्दा लेखक भित्रको विवेचनात्मक शक्ति स्पष्ट देखिएको बताइन्। त्यस्तै उपप्राध्यापक ज्ञाननिष्ट ज्ञवालीले उपन्यासले न केवल साहित्यिक अनुभूति दिइरहेको, बरु राष्ट्रको नेतृत्व, संवादको महत्व र समग्र समाजका जटिलताहरू समाधान गर्ने विचार पनि सँगै बोकेको बताए। लेखक कल्पना रिजालले ‘डाँफे’लाई नेपालका राष्ट्रिय चरा जस्तै विविध रंगले भरिएको सामाजिक, दार्शनिक र भावनात्मक चित्रणको दस्तावेज बताइन्। उपन्यासले परम्परागत संरचना र आधुनिक समाजबीचको द्वन्द्व, मूल्य र अवमूल्यन, राष्ट्रियताको पुनः व्याख्या जस्ता विषय समेटेको जानकारी दिइन्।