८ जेठ, काठमाडौं । दिगो विकास र वातावरणीय संरक्षणको सन्देश बोकेको “निफ्रा ऊर्जा ऋणपत्र ६ प्रतिशत 2088/89” यही जेठ १८ गतेदेखि सर्वसाधारणका लागि खुला हुँदैछ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले हरित परियोजनामा वित्त प्रवाह बढाउन भन्दै कुल ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो। जसमध्ये २ अर्ब रुपैयाँ सर्वसाधारणका लागि छुट्याइएको छ। यो ऋणपत्रमा सहभागी हुन चाहने लगानीकर्ताले न्यूनतम २५ कित्ता (२५ हजार रुपैयाँ बराबर) को आवेदन दिनुपर्नेछ भने अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ। अंकित मूल्य प्रति कित्ता १ हजार रुपैयाँ रहेको छ। ७ वर्ष अवधिको यो ऋणपत्रबाट उठाइने रकम वातावरणमैत्री परियोजना र हरित पूर्वाधार विकासमा खर्च गरिने निफ्राले स्पष्ट पारेको छ। कम्पनीले यस ऋणपत्रमार्फत हरित ऊर्जा, सौर्य, जलविद्युत, बायोग्यास र वातावरणमैत्री अन्य परियोजनाहरूमा लगानी गर्ने जनाएको छ। ऋणपत्रमा वार्षिक ६ प्रतिशत ब्याजदर तोकिएको छ, जसले तुलनात्मक रूपमा सुरक्षित तथा स्थिर प्रतिफल चाहने लगानीकर्तालाई आकर्षण गर्न सक्ने देखिन्छ। ‘निफ्रा ऊर्जा ऋणपत्र’ ले अल्पकालीन मुनाफाभन्दा दीर्घकालीन स्थायित्वमा विश्वास राख्ने लगानीकर्ताका लागि उचित विकल्प हुन सक्छ। इक्रा नेपालले निफ्राको यस ऋणपत्रलाई ‘बीबीबी माइनस’ क्रेडिट रेटिङ प्रदान गरेको छ, जसले कम्पनीले आफ्ना वित्तीय दायित्वहरू मध्यमस्तरमा पुरा गर्न सक्ने संकेत गर्छ। ऋणपत्रमा आवेदन दिन ‘मेरोसेयर’ प्रणाली वा बैंक शाखाहरूमा रहेका आस्वा सेवा प्रयोग गर्न सकिनेछ। छिटोमा जेठ २१ गते आवेदन बन्द हुनेछ, तर सम्पूर्ण बिक्री नभएमा ढिलोमा असार १ गतेसम्म आवेदन खुला रहनेछ। बिक्री व्यवस्थापक एनआईएमबी एस क्यापिटल रहेको छ।