८ बैशाख, काठमाडौं – चिया नेपाली घर–घरको संस्कृतिसँग गहिरो जोडिएको पेय हो। बिहानको सुरुवातदेखि साँझको विश्रामसम्म चियाको कप जीवनको एउटा अनिवार्य हिस्सा बनिसकेको छ। तर, यही चिया गलत तरिकाले पिउनाले स्वास्थ्यमा नराम्रो असर पार्न सक्छ, भन्ने कुरा धेरैले नजरअन्दाज गर्दै आएका छन्। चिया स्वास्थ्यका लागि हानिकारक हो’ भन्ने होइन। तर गलत तरिकाले चिया पिउनु स्वास्थ्यका लागि घातक बन्न सक्छ। यहाँ चर्चा गरेका छौं । चिया पिउँदा धेरैजसो व्यक्तिहरूले गर्ने पाँचवटा सामान्य गल्ती, जसले दीर्घकालीन रूपमा हाम्रो शरीरमा नकारात्मक प्रभाव पार्न सक्छ। १. खाली पेटमा चिया: शरीरको असन्तुलनको सुरुवात बिहान उठ्नेबित्तिकै चिया पिउनु सामान्य लागे पनि, खाली पेटमा क्याफिन लिने बानी पेटमा एसिडको मात्रा बढाउने काम गर्छ। यसले ग्याँस, जलन, कब्जियत र पाचन समस्याको बीउ रोप्छ।बिहान मनतातो पानी वा फलफूल खाएर मात्र चिया लिनु उपयुक्त हुन्छ। २. बारम्बार चिया पिउने बानी: लतले ल्याउने रोग दैनिक ४–५ पटक चिया पिउनु ‘चिया प्रेम’ हो भनेर आत्मसन्तुष्टि लिन सकिएला, तर क्याफिनको अत्यधिक मात्रा मस्तिष्कमा असन्तुलन ल्याई तनाव, अनिद्रा र चिढचिढापन बढाउँछ। दिनको दुई कप चिया पर्याप्त हो। खासगरी राति पख चिया नपिउनु बेस। ३. अत्यधिक उमालिएको चिया: स्वादको नाममा विष? धेरैले चिया गाढा बनाउन लामो समयसम्म उमाल्छन्। तर यस्तो गर्दा ट्यानिन्स र क्याफिनको मात्रा अत्यधिक हुन्छ, जसले पाचन प्रणालीमा असर गर्छ। चियालाई मध्यम समयमै उमाल्नु उत्तम हुन्छ। स्वादभन्दा अघि स्वास्थ्य सोचौं। ४. खाना खाइसकेपछि तुरुन्तै चिया: पोषणमा बाधा भोजनपछि तुरुन्तै चिया पिउनाले खानाबाट प्राप्त हुने आइरन र अन्य पोषक तत्वको अवशेषणमा अवरोध पुर्याउँछ। खाना खाइसकेपछि कम्तीमा ३० मिनेटको अन्तरमा मात्र चिया पिउनु उपयुक्त हुन्छ। ५. अत्यधिक चिनी प्रयोग: मिठासको मोह, रोगको जोखिम चियालाई मीठो बनाउने नाममा चिनीको मात्रा बढाउँदा रक्तमा ग्लुकोजको स्तर असन्तुलित हुन्छ। जसले मधुमेह, मोटोपन, र मुटु रोगको जोखिम निम्त्याउँछ। चिनी कम राख्ने बानी बसाल्नुहोस्। विकल्पका रूपमा मह वा गुड प्रयोग गर्न सकिन्छ।