नेपाल एक पहाडी भौगोलिक बनावट भएको मुलुक हो, जहाँ पूर्वाधार निर्माण, विशेषतः सडक सञ्जाल विस्तार एक चुनौतीपूर्ण कार्य रहँदै आएको छ।
यस्तो भू-भागमा दीर्घकालीन सोचका साथ टिकाउ, भरपर्दो र लागत-लाभ विश्लेषणमा आधारित पूर्वाधार निर्माण गर्नु अत्यावश्यक छ।
सडक निर्माणका सन्दर्भमा पछिल्लो समय सिमेन्ट ढलान (cement concrete pavement) बाटोप्रतिको चासो बढ्दै गएको छ।
हाल प्रचलनमा रहेको अलकत्र (बिटुमिन) प्रयोग गरिएको कालोपत्रे बाटो प्रारम्भिक रूपमा तुलनात्मक रूपमा सस्तो देखिए तापनि यसको जीवन अवधि छोटो हुने, हरेक वर्ष मर्मत संभारमा ठूलो रकम खर्चिनु पर्ने तथा मौसमजन्य असरले चाँडै बिग्रिने भएकाले दीर्घकालीन दृष्टिले यो प्रभावकारी देखिँदैन।
अर्कातर्फ सिमेन्ट ढलान बाटो प्रारम्भिक लागतमा केही महँगो पर्न गएको भए तापनि यसको आयु कम्तिमा तीन गुणासम्म लामो हुने भएकाले समग्र हिसाबले यो किफायती र टिकाउ विकल्प सावित भएको छ।
सिमेन्ट ढलानबाट निर्माण गरिने सडकहरु प्राविधिक हिसाबले पनि उपयुक्त मानिन्छन्। पानीको प्रभावले कालोपत्रे सडक क्षतिग्रस्त हुन्छ भने सिमेन्ट ढलान सडकमा पानीले नोक्सान पुर्याउने होइन, बरु यसले दीर्घायु बढाउँछ।
अलकत्र बाटोमा पानी, ढल तथा अन्य आवश्यक संरचना जोड्दा सडक भत्काउनुपर्दछ र त्यसको मर्मत पनि जटिल हुन्छ, तर सिमेन्ट ढलान सडकमा सहज रूपमा काटेर पुनः जडान तथा निर्माण गर्न सकिने विशेषता हुन्छ।
अर्कोतर्फ, अलकत्र पूर्णरूपमा आयात गर्नुपर्ने सामग्री हो। यसले मुलुकको परनिर्भरता बढाउँछ। यद्यपि, सिमेन्ट नेपालमै उत्पादन हुने र निरन्तर आपूर्ति हुने सामग्री हो, जसको प्रयोगले आयात प्रतिस्थापनमा टेवा पुर्याउनुका साथै राष्ट्रिय अर्थतन्त्र सुदृढ पार्न सकिन्छ।
छिमेकी मुलुक भारत, चीन लगायत अन्य देशहरुले पहाडी क्षेत्रदेखि उच्चस्तरीय हाइवे निर्माणसम्म सिमेन्ट ढलान प्रविधिको प्रयोग गर्दै आइरहेका छन्। नेपालमा पनि केही स्थानमा स्थानीय निकाय वा आयोजना स्तरीय प्रयासमा सिमेन्ट ढलान सडक निर्माण गरिएको पाइन्छ।
यस्ता प्रयास प्रशंसनीय छन्, तर नीति तथा कार्यान्वयन स्तरमै सरकारी प्रतिबद्धता नहुँदा यस प्रविधिको व्यापक प्रयोग हुन सकेको छैन।
यस सन्दर्भमा “अब कालोपत्रे होइन सेतो पत्रे गरौं” भन्ने अभियानलाई सशक्त रूपमा अघि बढाउनुपर्ने आवश्यकता महसुस भएको छ। राष्ट्रिय पूर्वाधार निर्माणको दीर्घकालीन दृष्टि, जनताको सेवा र देशको आर्थिक स्वावलम्बनलाई प्राथमिकतामा राख्दै सिमेन्ट ढलान प्रविधिलाई सरकारी नीति र योजना मार्फत प्राथमिकता दिनु समयको माग हो।
“Cement concrete pavement: way forward to sustainable connectivity” भन्ने अन्तर्राष्ट्रिय अवधारणा सँग सुमधुर हुँदै, नेपालजस्ता पहाडी मुलुकमा सेतो पत्रे (सिमेन्ट ढलान) सडकले सस्तो, टिकाउ, स्वदेशी र दिगो विकासको स्पष्ट मार्गचित्र प्रस्तुत गर्दछ।
अतः हामी सम्बन्धित निकाय, नीति निर्माता, निर्माण व्यवसायी तथा स्थानीय सरकार सबैलाई आ-आफ्नो क्षेत्रबाट सिमेन्ट ढलान प्रविधिको प्रवर्द्धन, बजेटमा प्राथमिकता र नीति निर्माणमा संलग्न हुन हार्दिक आग्रह गर्दछौं। यसबाट मात्र हामी दीर्घकालीन, सबल र सन्तुलित सडक सञ्जाल निर्माण गर्न सक्नेछौं।