काठमाडौं । लोकप्रिय गायन रियालिटी शो इण्डियन आइडल सिजन १२ का विजेता पवनदीप राजन कार दुर्घटनामा परेर गम्भीर घाइते भएका छन्। उनी सवार गाडी उत्तर प्रदेशको अमरोहामा दुर्घटनामा परेपछि दिल्लीको फोर्टिस अस्पतालमा उपचाररत छन्। हाल उनको अवस्था स्थिर रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
संगीत यात्राबाट लाखौँको मन जितेका पवनदीप सोमबार उत्तराखण्डबाट दिल्ली जाँदै गर्दा कार अनियन्त्रित भइ सडक किनारमा रोकेको सवारीसँग ठोक्किएको थियो। गाडीमा सवार उनका दुई अन्य साथीहरू पनि घाइते भएका छन्। प्रारम्भिक उपचार उत्तरप्रदेशमै गरिए पनि अवस्थालाई गम्भीर मान्दै तीनै जनालाई दिल्ली लगिएको हो।
उत्तराखण्डको चम्पावत जिल्लाबाट आएका पवनदीपले आफ्नो सुमधुर आवाजले भारतीय संगीतप्रेमीको मन जित्दै इण्डियन आइडलको उपाधि जितेका थिए। उनले नेपालमा पनि आफ्नो लोकप्रियता कायम राख्दै केही वर्षअघि काठमाडौंमा भव्य प्रस्तुति दिएका थिए।