+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कोशी लगानी सम्मेलन नेपालको विकासका लागि कोशेढुंगा : मन्त्री दाहाल

जनवाच
१ दिन अगाडी

झापा, १९ बैशाख, २०८२ — कोशी प्रदेशमा पहिलोपटक आयोजना गरिएको लगानी सम्मेलन नेपाललाई दीर्घकालीन औद्योगिक रूपान्तरण र हरित प्रविधि केन्द्रित अर्थतन्त्रतर्फ डोहोर्याउने संकेतका रूपमा अगाडि आएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सम्मेलनको दोस्रो दिन विचार राख्दै कोशी प्रदेशलाई लगानीको बहुआयामिक अवसर भएको क्षेत्रका रूपमा चित्रण गर्नुभयो। “कोशी प्रदेश औद्योगीकरणको मुटु बन्न सक्ने सामर्थ्य बोकेको प्रदेश हो,” उहाँले भन्नुभयो।

मन्त्री दाहालका अनुसार नेपालले विद्युत उत्पादनमा आत्मनिर्भरता हासिल गर्दै अब विद्युतीय सवारी साधन उत्पादन र प्रयोग तर्फ लाग्ने स्पष्ट रणनीति अघि सारेको छ।

उहाँले भन्नुभयो, “हामी २०३० भित्र सबै सवारी साधनको ८० प्रतिशतभन्दा बढी विद्युतीय बनाउने लक्ष्यमा छौं। त्यही कारण हामीले यस्तो सम्मेलनबाट स्वदेशी र विदेशी दुवै लगानीकर्तालाई विद्युतीय उद्योग स्थापना गर्न खुला निम्तो दिएका छौं।”

मन्त्री दाहालले सरकारले हालै विभिन्न कानुनहरू संशोधन गर्दै लगानीमैत्री वातावरण तयार गरेको जानकारी दिनुभयो। उहाँका अनुसार आवश्यक परे अझ नयाँ कानून निर्माण गर्न पनि सरकार तयार छ। यसले लगानी सुरक्षाको सुनिश्चितता मात्र होइन, दीर्घकालीन स्थायित्वको संकेत पनि दिन्छ।

कोशी प्रदेशमा कृषि, उद्योग, पर्यटन, यातायात लगायत विभिन्न क्षेत्रमा लगानीका उल्लेखनीय सम्भावना रहेको मन्त्री दाहालको भनाइ थियो। उहाँका अनुसार पूर्वाधार निर्माण र ऊर्जा उपयोगमा सक्रिय सरकार यो सम्मेलनलाई “कोशेढुंगा” मानिरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको सम्मेलनमा विभिन्न देशका लगानीकर्ता, राजनयिक प्रतिनिधि र स्वदेशी निजी क्षेत्रका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ