विराटनगर, १८ वैशाख — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशको आर्थिक समृद्धिका लागि अबको १० वर्षलाई **‘लगानी दशक’**को रूपमा घोषणा गर्न सरकारलाई आग्रह गरेका छन्। कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलन–२०८२ को उद्घाटन समारोहमा बोल्दै उनले लगानीमैत्री वातावरण निर्माणका लागि एकीकृत लगानी नीति र कानुन आवश्यक रहेको धारणा राखे।
अध्यक्ष ढकालले वन, वातावरण, भूमि जस्ता विषय समेटिने एकीकृत लगानी संहिता निर्माण गर्नुपर्ने बताए। “विभिन्न निकायबाट फरक–फरक व्याख्या भइरहँदा लगानीकर्ता अन्योलमा पर्छन्,” उनले भने, “यस्तो अवस्था अन्त्य गर्न एकीकृत कानुनी संरचना आजको आवश्यकता हो।”
उनले राजनीतिक अस्थिरता भए पनि नीतिगत स्थायित्व कायम गर्न सकिने भन्दै सबै राजनीतिक दलहरूलाई कम्तीमा १० वर्षसम्म नीतिगत परिवर्तन नगर्ने सहमति गर्न सुझाव दिए। “विकासको गति बढाउन अहिलेको प्राथमिकता नीतिगत स्पष्टता र स्थायित्व नै हो,” उनले जोड दिए।
अध्यक्ष ढकालले आगामी बजेट र मौद्रिक नीतिमा लगानी सहजीकरणलाई मुख्य एजेन्डा बनाउनु पर्ने बताए। नागरिक एपमार्फत व्यवसाय दर्ता, कर भुक्तानीपछि स्वचालित नविकरण, र विदेशी लगानीका लागि अनलाइनमार्फत प्रक्रिया सकिने डिजिटल लगानी प्रणाली आवश्यक रहेको धारणा राखे।
उनले लगानी बोर्ड, उद्योग विभागलगायतका निकायहरूलाई समेटेर एकीकृत लगानी सहजीकरण निकाय बनाउने प्रस्ताव समेत अघि सारे।
कोशी प्रदेशलाई पर्यटन, कृषि, ऊर्जा, पूर्वाधारजस्ता क्षेत्रमा अपार सम्भावनायुक्त क्षेत्रको रूपमा चिनाउँदै उनले प्रदेश सरकारले परियोजनाको स्पष्ट विवरण लगानीकर्तामाझ राख्नुपर्ने बताए।
महासंघकै पहलमा १० अर्ब रुपैयाँ पुँजीसहित पब्लिक लिमिटेड कम्पनी गठन गरेर पूर्वाधार क्षेत्रमा लगानी आरम्भ गरिएको उल्लेख गर्दै उनले यसले लगानीको अभाव हटाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।