काठमाडौं, वैशाख १८ — विश्व मजदुर दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि स्वदेशी उत्पादनको प्रयोग र मर्यादित श्रमको संस्कार विकास गर्नुपर्नेमा जोड दिएका छन्।
बुधबार जारी शुभकामना सन्देशमा राष्ट्रपतिले श्रमको सम्मान, स्वरोजगार विस्तार, उचित पारिश्रमिक र सामाजिक सुरक्षाको सुनिश्चिततालाई समावेशी आर्थिक विकासका मेरुदण्डका रूपमा प्रस्तुत गर्दै स्वदेश तथा विदेशमा श्रमरत सबै नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति शुभकामना व्यक्त गरेका छन्।
राष्ट्रपतिले संविधानले प्रत्याभूत गरेका श्रम र रोजगारसम्बन्धी अधिकारहरू कार्यान्वयनमा ल्याउन जोड दिँदै लैङ्गिक समानताको आधारमा श्रमिकबीच कुनै भेदभाव नगरिने कुरालाई विशेष रूपमा उल्लेख गरेका छन्।
उनको सन्देशमा भनिएको छ, “उद्यमशीलता र स्वदेशी उत्पादनमा आधारित अर्थतन्त्रले मात्र स्वावलम्बी राष्ट्र निर्माण सम्भव छ। उत्पादनशील काममा श्रमिकको मर्यादित सहभागिता र उद्यमशील लगानीकर्ताको सक्रियता दुवै समान रूपमा महत्त्वपूर्ण छन्।”
राष्ट्रपतिले विश्व मजदुर दिवसले सबैलाई श्रमको गरिमा बुझ्न, श्रमिकको हक र सुरक्षाको सुनिश्चितता गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
उनले समाजवाद उन्मुख अर्थतन्त्रको यात्रामा श्रमिक वर्गको भूमिका अतुलनीय हुने भन्दै उत्पादन र उत्पादकत्व वृद्धि नै दीर्घकालीन समृद्धिको आधार बन्ने धारणा व्यक्त गरेका छन्।