+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी

जनवाच
२ हप्ता अगाडी

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले खाद्य आत्मनिर्भरता सम्भव भए पनि त्यसका लागि इच्छाशक्तिको खाँचो रहेको बताएका छन्। निजी क्षेत्रसँग सरकार सहकार्य गर्न तयार रहेको भन्दै उनले आयात नियन्त्रण गर्न सकिने सम्भावनालाई ‘वास्तविकता’ मा बदल्न उद्योगीहरूको सक्रियता आवश्यक रहेको बताए।

नेपाल चामल, तेल, दाल उद्योग संघको ४५औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री भण्डारीले भने, “यदि उद्योगीहरू उत्पादन र उत्पादकत्वमा लागे भने नेपालले अत्यावश्यक वस्तुमा विदेशी भरपर्दा बस्नुपर्दैन।”

उनले भारतको उदाहरण दिँदै, “नेपालभन्दा धेरै गुणा जनसंख्या भएको देश पनि आफ्नै उत्पादन निर्यात गर्न सफल भएको छ। नेपालमा भौगोलिक विविधता छ, जमिन छ, जलवायु छ — त्यसैले चामल, तेल र दालजस्ता उपभोग्य वस्तु उत्पादन गर्नु गाह्रो छैन,” भन्दै देशभित्रको सम्भावना चिन्न र प्रयोग गर्न उद्योगीहरूलाई आह्वान गरे।

भण्डारीले वर्षको प्रमुख आयात वस्तुमा पेट्रोलियमभन्दा बढी ‘सोयाबिन’ रहेको तथ्यांकले गम्भीर संकेत दिएको बताए। “पहाड रित्तिएका छन्, खेतबारी बाँझिएका छन्, तर युवाहरू विदेशमा श्रम बेचिरहेका छन्। यस्तो अवस्थामा आत्मनिर्भरता सपना मात्रै होइन, सरकारको लक्ष्य हो,” उनले प्रस्ट पारे।

आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको सन्दर्भमा सरकार परामर्शको चरणमा रहेको उनले बताए। सरकारले उद्योगमैत्री नीति ल्याउने प्रतिबद्धता व्यक्त गर्दै उनले निजी क्षेत्रसँग सहकार्य गर्न आतुर रहेको सन्देश दिए।

भण्डारीले हिमाल, पहाड, तराईजस्ता क्षेत्रहरूको विशेषता अनुसार रैथाने अन्नबालीमा उत्पादन वृद्धि गर्नुपर्नेमा पनि जोड दिए। उनले उत्पादन हुने क्षेत्रको पहिचान गरेर उत्पादनदेखि निर्यातसम्मको प्रक्रिया सरल बनाउन सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने बताए।

नेपाल चामल, तेल, दाल उत्पादक संघका अध्यक्ष कुमोद अग्रवालको अध्यक्षतामा सम्पन्न सभामा संघका वरिष्ठ सदस्य अजय पराजुलीलाई मन्त्री भण्डारीले सम्मान गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ