८ वैशाख, गुल्मी —बाँदर लखेट्ने क्रममा खुलिएको एक अनौठो ढोका— अहिले गुल्मीको धुर्कोट गाउँपालिका–५ मा रहेको ‘विचित्र गुफा’ देश-विदेशका पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ।सन् २०४५ मा जनार्दन भण्डारीले बाँदर पच्छ्याउँदै पुगेर पत्ता लगाएको यो गुफा, अहिले धार्मिक रहस्य, प्राकृतिक सौन्दर्य र अध्यात्मको संगम बन्न थालेको छ। यो गुफाको विशेषता भनेकै ‘स्वर्ग जाने बाटो’ भन्ने जनविश्वासले भरिएको ठाउँ हो।अत्यन्तै साँगुरो उक्त भागमा धर्मात्मा मात्र पस्न सक्ने भनाइ रहेको छ।त्यहाँ पुग्ने जो–कसैले प्राकृतिक रूपमा बनेको हात्तीको आकृति — शरीर, सुँड र पुच्छर स्पष्ट देख्न सक्छ, जुन दृश्यले दर्शकलाई चकित बनाउँछ। गुफा केवल भौगोलिक संरचना मात्र होइन, प्राकृतिक शिल्पको अद्भुत प्रदर्शन पनि हो।गुफाको भित्ताहरूमा बनेका आकृतिहरूले जुनसुकै पर्यटकको ध्यान खिच्ने गर्छन्।धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले यो गुफाले अब नयाँ परिचय बनाइरहेको छ। धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलका अनुसार हाल फ्रान्स, जर्मनी र बेलायतका पर्यटकहरू पनि गुफा अवलोकन गर्न आइपुग्ने गरेका छन्।अनेक विदेशी नागरिक अरविन्द्र आश्रममा योग साधनाका लागि आउने क्रममा गुफा पनि हेरेर फर्कने गरेको पाइएको छ। हालसम्म गुफा क्षेत्रको पूर्वाधार विकासमा सङ्घ, प्रदेश र गाउँपालिकाबाट दुई करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ।तम्घासबाट १८ किलोमिटर टाढा रहेको यो गुफा यातायात र पदमार्ग दुवैबाट पुग्न सकिने छ, जसले यो क्षेत्रलाई धार्मिक तथा साहसिक पर्यटकीय गन्तव्यमा रूपान्तरण गर्ने संकेत दिएको छ।