+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अन्तर्राष्ट्रिय

ट्रम्पको सम्भावित चासो र चीनको चनाखो नजर : २०२७ भित्र विश्व नक्सामा नयाँ देश ‘बोगेनभिल’ उदाउने

जनवाच
९ घण्टा अगाडी

काठमाडौं –  प्रशान्त महासागरको एउटा सानो टापुले फेरि एक पटक विश्वका दुई प्रमुख शक्तिहरू — अमेरिका र चीन — लाई आमनेसामने ल्याउने संकेत दिएको छ। बोगेनभिल टापु नामको यो सुन्दर भूभाग अब केवल स्वतन्त्रताको प्रतीक्षा गरिरहेको क्षेत्र मात्र नभएर विश्व भू–रणनीतिक सन्तुलनको सम्भावित ‘हटस्पट’ बन्दैछ।

तामा, चाँदी, निकेल, कोबाल्ट जस्ता बहुमूल्य खनिजले भरिएको यो टापु भविष्यको सैन्य तथा आर्थिक सञ्जालको एउटा निर्णायक कडी बन्न सक्ने सम्भावना बलियो छ। यही खनिजको लोभ र रणनीतिक अवस्थाका कारण अमेरिका र चीनबीच प्रतिस्पर्धा चर्किन थालेको विश्लेषण गरिएको छ।

बोगेनभिलका अध्यक्ष इश्माएल टोरोमाले अमेरिका, विशेषतः पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रस्ताव अघि सारेका छन् – “यदि अमेरिका सहयोग गर्छ भने, खनिजको पहुँच तिमीलाई दिनेछौं।”

यो प्रस्ताव केवल व्यापारिक नभएर रणनीतिक सैन्य गठबन्धनको संकेत पनि मानिएको छ, जसले चीनको चिन्ता थप बढाएको देखिन्छ। बोगेनभिलको स्थान चीनको BRI परियोजनालाई प्रभावित पार्ने स्थानमा रहेको कारण यहाँ अमेरिकाको उपस्थिति चीनलाई असहज बनाउने निश्चितजस्तै छ।

सन १९७५ मा स्वतन्त्रता घोषणा गरेपछि पपुवा न्यू गिनीको कब्जा र त्यसपछिको गृहयुद्ध, अनि २०१९ मा भएको जनमतसंग्रह – यी सबैले देखाउँछ कि बोगेनभिलको स्वतन्त्रता यात्रा कुनै सामान्य राजनीतिक माग होइन। त्यो जनताको बलिदान र लामो प्रतिक्षाले बनाएको सपना हो, जसमा अब अन्तर्राष्ट्रिय शक्तिहरूको चासो मिसिएको छ।

यदि ट्रम्पले प्रस्ताव स्वीकारे भने, २०२७ भित्र विश्व नक्सामा नयाँ देश ‘बोगेनभिल’ उदाउने सम्भावना बलियो हुनेछ। तर यो स्वतन्त्रता केवल स्थानीयको जित मात्र हुने छैन, योसँगै शुरू हुनेछ नयाँ शीतयुद्धको अध्याय, जहाँ भूभागभन्दा पनि स्रोत र प्रभावको नियन्त्रण प्रमुख हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ