काठमाडौँ, २९ चैत्र – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र पायोनियर एल एसोसिएट्स (पीएलए)बीच नेपालको जलविद्युत आयोजनालाई केन्द्रित ‘ग्रीन ट्याक्सोनोमी’ तथा ‘क्लाइमेट फाइनान्सिङ’ विषयमा संयुक्त अध्ययनको सहकार्य भएको छ। मंगलबार कमलादीमा आयोजित एमओयू हस्ताक्षर समारोहमा इप्पानका अध्यक्ष गणेश कार्की र पायोनियरका सञ्चालक अनुपराज उप्रेतीले सहकार्य पुष्टि गर्दै समझदारीपत्रमा आफ्नो सहमति व्यक्त गरेका छन्।
प्रमुख उद्देश्य नेपाल सरकारको २८ हजार ५०० मेगावाट विद्युत उत्पादनका मार्गचित्रसँग मिलेर, जलविद्युत आयोजनामा आवश्यक पुँजी जुटाउने र ग्रीन फाइनान्सिङका माध्यमबाट ऊर्जा क्षेत्रलाई दिगो बनाउन सहयोग पुर्याउने रहेको छ। इप्पानका अध्यक्ष गणेश कार्कीले भन्नुभएको छ, “यस अध्ययनले नेपालको जलविद्युत परियोजनाहरूलाई विश्वका उत्कृष्ट मोडलहरूको अध्ययन पश्चात नेपाली माटो सुहाउँदो ग्रीन ट्याक्सोनोमी मोडल सिफारिस गर्नेछ।”

अध्ययनले जलविद्युत आयोजनामा गाइडलाइन्स निर्माण, हाइड्रोपावर क्षेत्रको ग्रीन ट्रान्जिसनलाई अघि बढाउने र कार्बन ट्रेडिङका मुद्दाहरूमा नीति, पुलको कार्यबाहेक आवश्यक सहकार्य र वकालतका अवसरहरू पहिचान गर्ने लक्ष्य राखेको छ। यस अध्ययनलाई प्रभावकारी बनाउन संयुक्त कार्यसमिति गठन गरी पायोनियरबाट ४ र इप्पानबाट ३ जना विशेषज्ञ रहने छ, जसले आगामी अगस्ट २०२५ (भदौ, २०८२)भित्र विस्तृत रिपोर्ट तयार पारेर इप्पानलाई हस्तान्तरण गर्ने व्यवस्था गरिएको छ।
एमओयू हस्ताक्षर समारोहमा इप्पानका तर्फबाट अध्यक्ष गणेश कार्की, वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, उपाध्यक्ष आनन्द चौधरी, महासचिव बलराम खतिवडा, कार्यसमिति सदस्य टीएन आचार्य, सुमन जोशी, प्रमुख कार्यकारी अधिकृत भीम गौतम लगायतका प्रतिनिधिहरू उपस्थित थिए। पायोनियरका तर्फबाट सञ्चालक अनुपराज उप्रेती र आर्या अर्याल लगायतका अधिकारीहरूले समेत सहभागी भई सहकार्यमा आफ्नो उत्साह व्यक्त गरेका छन्।