काठमाडौं – नेपालमा डढेलो नियन्त्रण र आगलागी सुरक्षामा व्यापक समन्वयको खाँचो महसुस गराउँदै ‘फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्स २०२५’ काठमाडौंमा सुरु भएको छ। सम्मेलनको उद्घाटन गर्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले उपकरण र दक्ष जनशक्तिको अभावबीच सरकारी प्रयास मात्र पर्याप्त नहुने स्पष्ट पारे। उनले भनाइमा, डढेलो नियन्त्रणका लागि हालसम्म सरकारसँग दमकलबाहेक कुनै ठोस विकल्प नभएको स्वीकार गर्दै, आधुनिक उपकरण र तालिम प्राप्त जनशक्तिको अभावले चुनौती थपिएको उल्लेख गरे। “वन डढेलो सरकारको मात्र जिम्मेवारी होइन, सबैको साझा दायित्व हो,” मन्त्री शाहीको जोड थियो। जटिल भौगोलिक बनावट भएका क्षेत्रहरूमा आगलागी नियन्त्रण थप कठिन हुने भन्दै उनले नागरिक समाज, युवाहरू, स्थानीय समुदाय र सबै सरोकारवालाहरूको सहकार्य अपरिहार्य रहेको बताए। मन्त्री शाहीले वन मन्त्रालयले डढेलोलाई केवल प्रकोप होइन, दीर्घकालीन संकटको रूपमा लिएको स्पष्ट गरे। एशिया प्यासिफिक सेक्युरिटी एसोसिएसन (आप्सा नेपाल) का अध्यक्ष सुनिल कुमार श्रेष्ठले आगलागी न्यूनीकरण केवल प्रविधिको कुरा नभई सामाजिक जागरुकता र सुरक्षा नीतिसँग गाँसिएको विषय भएको औँल्याए। उनले सम्मेलनबाट उठ्ने सुझाव र सिफारिसहरूलाई सरकारसँग समन्वय गर्दै व्यवहारमा उतारिने प्रतिवद्धता जनाए। दरबारमार्गस्थित होटल याक एन्ड यतिमा जारी सम्मेलनमा चीन, भारत, जापान, दक्षिण कोरिया, थाइल्यान्ड, सिंगापुर, मलेसिया, भियतनाम, इन्डोनेसिया, मकाउलगायत १४ देशका विशेषज्ञले कार्यपत्र प्रस्तुत गर्दै छन्। कार्यक्रममा विभिन्न सत्र, प्रविधि प्रदर्शनी र अन्तरक्रियात्मक छलफलमार्फत सहभागीहरूलाई नवीनतम प्रविधि र अन्तर्राष्ट्रिय अभ्यासको साक्षात्कार गराइँदैछ।