+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कृषि

आलु भण्डारण गर्न किसानलाई सहज, रामपुरमै शीतभण्डार सुरु

अब किसानहरूलाई टाढासम्म आलु लैजानुपर्ने झन्झट हटेको छ भने बेमौसमी समयमा पनि उचित मूल्यमा बिक्री गर्न सक्ने वातावरण बनेको छ।

जनवाच
२ हप्ता अगाडी

पाल्पा, चैत १९ – लामो समयसम्म आलु भण्डारण गर्न समस्या झेल्दै आएका रामपुरका किसानलाई अब गाउँमै शीतभण्डारको सुविधा उपलब्ध भएको छ।

यसअघि, किसानहरू आलु सुरक्षित राख्न भैरहवा, पोखरा जस्ता स्थानका शीतभण्डारमा लैजान बाध्य थिए। तर, रामपुर नगरपालिकाले सञ्चालनमा ल्याएको शीतभण्डार को सुविधाले किसानहरू उत्साहित बनेका छन्।

रामपुर नगरपालिका–२ का खेमराज राना भैरहवामा आलु भण्डारण गर्न ढुवानी खर्च बढ्ने भएकाले समस्यामा थिए। अहिले भने गाउँमै शीतभण्डार खुलेपछि ढुवानी खर्च कम हुँदा फाइदा भएको उनको भनाइ छ।

रामपुर–६ का ७४ वर्षीय किसान लेखनाथ पोखरेल भन्छन्, “पहिले १०–१५ बोरा आलु बोकेर टाढासम्म जानुपर्ने बाध्यता थियो। अब भने गाउँमै भण्डारण सुविधा पाउँदा सजिलो भएको छ।”

रामपुर नगरपालिकाले किसानलाई प्रति किलो ६ रुपैयाँ भण्डारण शुल्क लिएर आलु राख्ने व्यवस्था मिलाएको छ।
गत वर्ष ३,३७० बोरा आलु भण्डारण गरिएको थियो भने यस वर्ष ३,५००–४,००० बोरा भण्डारण गर्ने लक्ष्य छ।

नगरपालिकाले आलु राख्ने, व्यवस्थापन गर्ने र निकाल्ने सम्पूर्ण काम गर्नेछ। अहिले कृषि शाखाका कर्मचारी परिचालन गरेर आलु राख्ने कार्य भइरहेको छ।

रामपुर नगरपालिकाका कार्यवाहक नगरप्रमुख दोवराज तिवारी ले किसानलाई यो सुविधा उपयोग गर्न आग्रह गर्दै भने, “सबैभन्दा पहिले स्थानीय किसानलाई प्राथमिकता दिएका छौं। यहाँ सुरक्षित भण्डारण भएपछि किसानले उचित मूल्यमा आफ्नो उत्पादन बेच्न सक्नेछन्।”

स्याङ्जा चापाकोट नगरपालिकाबाट पनि १,५०० बोरा आलु भण्डारणको तयारी भइरहेको छ।

पाल्पाकै सबैभन्दा ठूलो ३०० मेट्रिक टन क्षमताको शीतभण्डार विसं २०७८ वैशाखमा निर्माण सम्पन्न भई प्रयोगमा आएको हो। लुम्बिनी प्रदेश सरकारको सहयोगमा रु ३.२६ करोडको लागतमा निर्मित यो शीतभण्डार नगरपालिकाले अहिले आफ्नै व्यवस्थापनमा सञ्चालन गरिरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ