+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मनोरञ्जन

नेपथ्यको सिड्नी कन्सर्ट: संगीतसँग गुञ्जियो प्रवास, तीन पुस्ताको सहभागिता

नेपथ्यको यो सफल कन्सर्टले प्रवासमा रहेका नेपालीहरूलाई आफ्नै संगीतसँग पुनः जोड्ने काम गरेको छ। नेपालबाट टाढा रहे पनि संगीतको माध्यमबाट आफ्नै संस्कृतिलाई बचाइराख्न सकिन्छ भन्ने उदाहरण नेपथ्यले फेरि एकपटक प्रस्तुत गरेको छ।

जनवाच
२ हप्ता अगाडी

सिड्नी, चैत १७ – नेपाली संगीतप्रेमीहरूको मनमा गहिरो छाप छोड्दै आएको नेपथ्य ब्यान्डले सिड्नीमा ऐतिहासिक प्रस्तुति दिएको छ। शनिबार साँझ भएको कन्सर्टमा पाँच हजारभन्दा बढी दर्शकको उपस्थिति रह्यो, जसले नेपथ्यप्रति रहेको माया र उत्साह झल्काउँथ्यो।

सिड्नीको प्रतिष्ठित ‘होर्डन पभिलियन’ हलमा आयोजित यो कन्सर्टका लागि टिकट तीन हप्ताअघि नै बिक्री भइसकेको थियो। कन्सर्ट सुरु हुनुअघि नै हल खचाखच भरिएको थियो। जब नेपथ्यका मुख्य गायक अमृत गुरुङ मञ्चमा उभिए, दर्शकको चर्को ताली र उत्साहजनक हुटिङले हल गुञ्जायमान बनायो।

कन्सर्टमा नेपाली संगीतलाई तीन पुस्ताले एकसाथ अनुभूत गरिरहेका थिए। कतिपय दर्शक आफ्ना सन्तान र नातिनातिनासँग आएका थिए भने कतिले युवा उमेरमै नेपथ्यलाई सुनेका अनुभव दोहोर्याइरहेका थिए।

काठमाडौंकी सरिता दाहाल पनि त्यस्तै दर्शकमध्येकी थिइन्। उनले २८ वर्षअघि काठमाडौंमा नेपथ्यको कन्सर्ट हेरेकी थिइन्। अहिले छोराबुहारीसँग सिड्नीको हलमा उभिएर उस्तै उत्साहका साथ नाचिरहेकी थिइन्। पहिले नेपथ्य हेर्दा जति रमाइलो लाग्थ्यो, अहिले पनि उस्तै महसुस भइरहेको छ,” उनले भनिन्।

नेपथ्यको संगीतले नेपाली मात्र होइन, विदेशी दर्शकहरूलाई पनि लोभ्याएको देखिन्थ्यो। अष्ट्रेलियन महिला जेसिन्टा आफ्ना तीन सन्तानसँग कार्यक्रम हेर्न पाँच घण्टाको यात्रा गरेर सिड्नी आइपुगेकी थिइन्। नेपालमा तीनपटक घुमिसकेकी उनले नेपथ्यको सांगीतिक प्रस्तुति प्रत्यक्ष सुन्न पाउँदा आफू अत्यन्तै उत्साहित भएको बताइन्।

उनका छोराहरू मध्ये ह्याट्रिक केही साताअघि क्यानबेरामा भएको नेपथ्यको कन्सर्टमा अडियो व्यवस्थापन गर्ने टिममा संलग्न थिए। “त्यो अनुभव यति अद्भुत थियो कि मैले आमालाई पनि यो कन्सर्ट हेर्न ल्याउनैपर्छ भन्ने सोचेँ,” उनले भने।

सिड्नीका दर्शकहरूले हरेकपटक नेपथ्यलाई खुला हृदयले स्वागत गर्दै आएका छन्। पहिलो पटक सन् २००९ मा सिड्नी आइपुगेको नेपथ्यले यसपटक सातौँपटक अस्ट्रेलियामा आफ्नो सांगीतिक छाप छोडेको हो।

“सिड्नी अब मेरो लागि नेपालकै कुनै सहरजस्तो बनिसकेको छ,” गायक अमृत गुरुङले भने, “यहाँका दर्शकबाट पाइने ऊर्जा हाम्रो सांगीतिक यात्राको ठूलो हिस्सा बनेको छ।”

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ