काठमाडौं । पीएम कप क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले इतिहासकै एक कमजोर प्रदर्शन गर्दै जम्मा ३१ रनमै समेटिएको छ। कोशी प्रदेशविरुद्धको खेलमा गण्डकीको ब्याटिङ लाइनअप पूर्ण रूपमा धराशयी बनेपछि टोली २०.४ ओभरमै अलआउट भयो। भैरहवाको सिद्धार्थनगर रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको गण्डकीका कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। अर्जुन कुमालले ९ रन बनाए भने सुजन गौतमले ६ रन जोडे। टिमका चार खेलाडी खाता नखोली पभेलियन फर्किए। कोशी प्रदेशका बलर विपिन महतोले गण्डकीको ब्याटिङ लाइन ध्वस्त पार्दै ८ ओभरमा ३ मेडन राख्दै १७ रन खर्चेर ६ विकेट लिए। उनको घातक बलिङसँग जुध्न नसक्दा गण्डकीले लज्जास्पद प्रदर्शन गर्न पुग्यो। त्यसैगरी, फिर्दोस अन्सारीले ३ विकेट तथा दीपेस कँडेलले १ विकेट हात पारे। पीएम कपको इतिहासमा यो दोस्रो सबैभन्दा कम टोटल स्कोर हो। यसअघि २०२४ को पीएम कपमै कोशी प्रदेश गण्डकीविरुद्ध २५ रनमै समेटिएको थियो। गण्डकीको यो प्रदर्शन टोलीका लागि ठूलो चेतावनीको संकेत हो।