काठमाडौं – चार देशीय टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाल आज हङकङविरुद्ध मैदानमा उत्रिंदै छ। नेपाली समयअनुसार खेल अपराह्न १२:४५ बजे सुरु हुनेछ। सिरिजको फाइनल दौडबाट बाहिरिसकेको नेपालका लागि यो खेल प्रतिष्ठाको लडाइँ हुनेछ।
नेपालले अहिलेसम्मका ५ खेलमध्ये १ मा जित र ४ मा हार बेहोरेको छ। नामिबियासँग दुवै खेल गुमाएको नेपाल हङकङ र युगाण्डासँग पनि एक/एक खेलमा पराजित भयो। एक मात्र जित आयोजक युगाण्डाविरुद्ध हासिल गरेको थियो।
सिरिजको अंक तालिकामा शीर्ष दुई स्थान ओगट्ने टोलीले मार्च १६ मा उपाधि भिडन्त खेल्नेछन् भने तेस्रो र चौथो स्थानमा रहने टोलीबीच पनि प्रतिस्पर्धा हुनेछ। यसैले, नेपालका लागि हङकङविरुद्धको खेल आत्मसम्मान जोगाउने अवसर हुनेछ।