काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रम हटाउने होइन, सुधार गरेर व्यवस्थित गर्ने सरकारको नीति रहेको स्पष्ट पारेका छन्। उनले हालसम्म दुई चरणको सुधार प्रक्रिया पूरा भइसकेको जानकारी दिएका छन्।
स्वास्थ्य बीमा कार्यक्रममा देखिएका विकृति हटाउने उद्देश्यले गठित कार्यदलको प्रतिवेदनका आधारमा सुधारका कार्य अघि बढाइएको मन्त्री पौडेलले बताएका छन्। संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बीमा प्रणालीलाई पारदर्शी, दिगो र प्रभावकारी बनाउन आवश्यक नीतिगत सुधार भइरहेको जनाए।
सचिवालयका अनुसार, “मन्त्रीज्यूले स्वास्थ्य बीमामा विकृति र दुरुपयोगका कारण बजेटले थेग्न नसक्ने अवस्था आएको भन्दै सुधारका लागि नीतिगत पहल भइरहेको बताउनु भएको हो। तर, भिडियो क्लिप काटेर गलत सन्देश प्रवाह गर्ने प्रयास भएको देखिन्छ।”
मन्त्री पौडेलका अनुसार, पहिलो चरणमा नीतिगत सुधारका काम भएका छन् भने दोस्रो चरणमा कार्यक्रम प्रभावकारी बनाउन कार्यान्वयनका उपायहरू अगाडि बढाइँदै छन्। उनले पुनः प्रष्ट पार्दै भने, “स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो। यसका लागि सुधारको प्रक्रिया अघि बढाइसकिएको छ।”
सरकारको पछिल्लो धारणा अनुसार, स्वास्थ्य बीमा प्रणालीलाई पारदर्शी बनाउँदै, वित्तीय व्यवस्थापनलाई चुस्त राख्दै, नागरिकलाई भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउने गरी सुधारका प्रक्रिया जारी रहनेछ।