काठमाडौं । एमजीको बहुप्रतिक्षित एसयूभी ईभी एस–५ छिट्टै नेपाल भित्रिने भएको छ । सेग्मेन्टमै पहिलो रियर ह्वील ड्राइभमा उपलब्ध एस–५ आगामी मंगलबारसम्ममा काठमाडौं भित्रिसक्ने कम्पनीले जनाएको छ ।
एमजी एस–५ यसअघि आईसिई सेग्मेन्टमा उपलब्ध एमजी जेडएसको फेसलिफ्ट नयाँ भर्जनमा हो । हाल भन्सार विन्दुमा आइपुगेको यो गाडी फागुन ११ गते सार्वजनिक गरिनेछ ।
नयाँ एसयूभी एस–५ कम्पनीले प्योर इलेक्ट्रिक प्लेटफर्ममा तयार पारेको विशेष उत्पादन हो । एसएआइसीको नेबुला प्लेटफर्ममा बनेको एस–५ एसयूभी सेग्मेन्टमै पहिलो रियर ह्वील ड्राइभ मोटरमा उपलब्ध भएको हो। रियर ह्वीलमा मोटरको साथमा फाइभ लिङ्क इन्डीपेन्डेन्ट सस्पेन्स र एड्भान्स ड्राइभर असिस्ट सिस्टम भएको कारण यसको ड्राइभिङ डाइनामिक्स उत्कृष्ट भएको कम्पनीको दाबी छ ।
हाललाई तीनवटा सेग्मेन्ट आउने एस–५ को माथिल्लो सेग्मेन्टको मूल्य ५० देखि ६० लाख रुपियाँमा सार्वजनिक हुने कम्पनीले जनाएको छ । हाल यो सेग्मेन्टमा रियर ह्वील मोटरको सुविधा अन्य कुनैपनि ब्राण्डमा उपलब्ध छैन । यसले पनि यो मूल्य निकै आकर्षक हुने कम्पनीले जनाएको छ ।
बजारमा उपलब्ध यहीँ सेग्मेन्टका उत्कृष्ट ईभीहरुमा मध्ये बीवाईडी अट्टो–३, अमोडा, दिपल लगाएको मोडलसँग एस–५ को खास प्रतिस्पर्धा पर्ने देखिएको छ ।
१२५ किलोवाट मोटर क्षमतामा रहेको एस–५ ४९ किलोवाट र ६२ किलोवाट दुबै ब्याट्री प्याकमा उपलब्ध हुने कम्पनीले जनाएको छ । जसले एक पटकको फूल चार्जमा ४२५ देखि ५२० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । गाडीमा लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग गरिएको छ ।
एमजी एस–५ मा पानारोमि सनरुफ, १८ इन्चको मल्टि स्पोक एलोई ह्विल, हिटिङ तथा भेन्टिलेसन सहितको लेदर सिट, १५।६ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १०।२५ इन्चको इन्स्ट्रयुमेन्ट क्लस्टर, वायरलेस मोबाइल चार्जिङ, एडप्टिभ क्रुज कन्ट्रोल र ३६० डिग्री क्यामेरा लगायत फिचर पाउन सकिन्छ ।