रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले काँग्रेस र एमालेसँग आफूहरुको बाटो फरक भएको बताएका छन् । पार्टीको तेस्रो रोल्पा नगर अधिवेशनलाई शनिबार सम्बोधन गर्दै पुनले २०६२ –६३ को आन्दोलनअघि निरंकुशताविरुद्धको आन्दोलनका लागि १२ बुँदे सहमतिबाट सुरु भएको दुई दलसँगको सहकार्य संविधान निर्माणपछिको ९ वर्षमा कमजोर भएको बताए ।
काँग्रेस–एमालेले गणतन्त्रलाई सीमित बिचौलिया, दलाल र भ्रष्टहरुको मात्र सीमित गर्ने कोसिसमा र आफूहरु बहुसंख्यकको गणतन्त्र बनाउने प्रयासमा रहेको उनको भनाइ थियो ।
आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारी र तस्करहरुलाई नियन्त्रण गर्न थालेपछि काँग्रेस एमाले अप्रत्याशित रुपमा मिलेको पुनले बताए । काँगेस एमालेलाई पुराना संसदवादी दलको संज्ञा दिँदै पुनले काँग्रेस–एमाले एउटा कित्ताका र आफूहरु अर्को कित्ताको भन्ने जनताले स्पष्ट रुपमा बुझेको दाबी गरे ।
‘हामी एउटा कित्ताका र काँग्रेस एमाले अर्को कित्ताका हुन् भन्ने जनताले बुझेका छन् । काँग्रेस एमालेको भ्रष्टाचार र बेथितीका कारण जनता हामीतर्फ आकर्षित भएका छन् । अहिलेको सरकारको नृेतृत्वसँग असन्तुष्टि र हामीसँग आकर्षण सँगसँगै बढेको छ’पुनले भने ।
सुशासनका लागि भ्रष्टाचार र अनियमितताविरोधी अभियान थालेपछि काँग्रेस एमाले बिच्किएको भन्दै उनले काँग्रेस र एमालेसँग त्यही बिन्दुबाट बाटो फरक भएछि सरकार ढलेको बताए ।
संसारमा कहीपनि प्रमुख दुई दल मिलेर सरकार चलाएको रेकर्ड नभएको चर्चा गर्र्दै पुनले सुशासनको अभियान थाल्दा आफूहरुलाई सरकार बाहिर आएपछि जनताले विगतको तुलनामा बढी माया गरेको उनको भनाइ थियो ।
प्रचण्ड सरकारले सुशासनका लागि केही गर्न खोज्दा हटाए भन्ने जनतामा स्थापित भएको दाबी गर्र्दै पुनले वर्तमान सरकार भ्रष्ट, बिचौलिया, दलाल र अनैतिकहरुले चलाइरहेको आरोप लगाए । गणतन्त्र जनताको हुन्छ कि बुर्जुवाहरुको हुने खतरा हुन्छ भनेर २०६२–६३ अघि नै भनेको स्मरण उनले गरे ।
यद्यपि जनताले गणतन्त्रको विकल्प नखोजेको बताए । २०२६–४६ अघि हरेक १० वर्षमा व्यवस्था परिवर्तनका लागि आन्दोलन भए पनि २० वर्षपछि पनि त्यस खालको आन्दोलन नहुनुले वर्तमान व्यवस्थाप्रति बहुसंख्यकको अपनत्व रहेको पुष्टि हुने पुनले उल्लेख गरे ।
‘यसअघि हरेक १० वर्षमा व्यवस्था परिवर्तनका लागिआन्दोलन हुन्थ्यो । अहिले २० वर्ष भयो । किन आन्दोलन उठेको छैन भने मानिसले यसलाई रुचाएका छन’, उनले भने ।
काँग्रेस एमाले नयाँ भन्ने दलहरुलाई माथि उठ्न नदिने र आफूहरु पनि लोकतन्त्रको बगैंचामा नयाँ फूल फूल्न दिनुपर्ने नीतिमा रहेको उनले बताए । ‘लोकतन्त्रमा नयाँलाई आउन दिनुपर्छ । यदि वृक्ष गलत परेछ भने आफैं सकिन्छ । तर, आउनै रोक्ने कुरामा हाम्रो सहमति छैन’, पुनले भने ।
फरक प्रसंगमा उनले प्रचण्डकै नेतृत्वमा पार्टीलाई पुनर्गठित र पुनर्ताजगी गरेर जनुपर्छ भन्ने पार्टी निस्कर्ष रहेको उनले उल्लेख गरे ।