काठमाडौं । सरकारद्धारा गठित नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट तथा सिफारिस समितिले तीन जनाको नाम सरकारसमक्ष सिफारिस गरेको छ । समितिले सन्तोष नारायण श्रेष्ठ, कृष्णबहादुर कार्की र नवराज अधिकारीको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको हो ।
तीन जनामध्ये सन्तोष नारायण श्रेष्ठको यसअघि नै अन्तरवार्ता तथा कार्य प्रस्तुति लिइसकिएको थियो भने कार्की र अधिकारीको हिजो आइतार मात्र लिइएको थियो । अन्तरवार्ताका लागि सर्ट लिस्टमा परेका तीन जनाले मात्र सहभागिता जनाएपछि अन्ततः सिफारिस समितिले तीनै जनाको नाम मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको हो ।
अब तीनजना मध्येबाट एक जनालाई सरकारले बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।
यसअघिका अध्यक्ष रमेश कुमार हमाल गत पुसमा कार्यकाल पुरा गरेर बाहिरिएसँग धितोपत्र कोर्ड ११ महिनादेखि नेतृत्व बिहिन अवस्थामा छ ।
लामो समयदेखि रिक्त बोर्डको अध्यक्ष चयन प्रक्रियामा स्वार्थ समूहको अवरोध र राजनीति हावी हुँदा प्रक्रिया ढिलो हुँदै आएको थियो । यसअघि पटकपटक अध्यक्षका लागि छनोट भएकाहरुलाई अन्तरवार्तामा बोलाउदा पनि केहीले बहिस्कार गरेकाले सिफारिसमा समस्या भएको थियो ।
यसअघि पनि पटक पटक पुनः समय तोकिएकोमा कार्की, अधिकारी र चिरञ्जीवी चपागाइँले बहिस्कार गर्दै आएका थिए । कार्की अहिले नेपाल धितोपत्र बोर्डको प्रमुख कार्यकारी अधिकृत छन् भने अधिकारी बोर्डकै कार्यकारी निर्देशक हुन् । चपागाइँ भने नेपाल बीमा प्राधिकरणका पूर्वअध्ययक्ष हुन् ।