काठमाडौं । नेपाल विद्युत प्राधिकरणमाथि लगातार दबाब हुँदा पनि कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगमा लाइन जोड्न इच्छा देखाएका छैनन् । मंगलबार बसेको प्राधिकरणको बोर्ड बैठकले सबै लाइन काटिएका उद्योगहरुको लाइन जोड्ने निर्णय गरेको छ । यसअघि आइतबार बेलुका बसेको मन्त्रिपरिषदको बैठकले सोमबार नै १२ बजेभित्र लाइन जोडिसक्ने निर्णय गरेको थियो । तर, सरकारको निर्णय पश्चात बोर्डले समेत उद्योगमा लाइन जोड्न भनिसक्दा समेत घिसिङ मौन बसेका हुन् ।
तथापि प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बिस्तारै सबै उद्योगमा लाइन जोडिने बताएका छन् । उनले भने, ‘गृहकार्य गरिरहेका छौँ । बिस्तारै सबै उद्योगमा लाइन जडान हुन्छ । अहिले भारतीय बजारमा गरिएको बिडलाई पनि ध्यान दिनुपर्छ ।’
प्राधिकरणले नेपालमा प्रयोग भएर बचेको विद्युत् भारतलाई बेच्दै आएको छ । भारतीय बजारमा पठाउने बिजुली अघिल्लो दिन नै बिड गर्नुपर्छ । काटिएका उद्योगमा करिब २०० मेगावाट विद्युत् उपयोग हुने प्राधिकरणको भनाइ छ ।