काठमाडौं। सहकारी ठगी मुद्दामा जेल चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थप १३ दिन हिरासतमा नै बस्नुपर्ने भएको छ । पछिल्लो पटक अनुसन्धानका लागि थपिएको १० को समय सकिएसँगै आइतबार जिल्ला अदालत कास्कीमा पेश गरिएका लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो ।
आइतबार कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलासले रविलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । योसँगै सहकारी ठगी मुद्दामा रविको हिरासत बसाई एक महिना बढी हुने भएको छ ।
सहकारी ठगी मुद्दामा प्रहरीले कात्तिक २ गते रवि लामिछानेलाई काठमाडौंबाट पक्रेर पोखरा लगेको थियो । कात्तिक ३ गते जिल्ला अदालत कास्कीमा पेश गरिएका लामिछानेलाई अदालतले पटकपटक गरी चारपटक म्याद थप गरिसकेको छ ।