काठमाडौं असार १५ —नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रसँग सम्बन्धित नीतिगत व्यवस्थाहरूमा सुधारको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। भेटमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा महासंघले अघि सारेका बुँदाहरूलाई समेटिएकोमा धन्यवाद दिँदै केही प्रावधानले व्यवसायमा प्रभाव पारेकाले सहजीकरणको आवश्यकता रहेको आग्रह उनले गरेका हुन्। प्रधानमन्त्री ओलीले निजी क्षेत्र मैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै महासंघका सुझावहरूलाई गम्भीरतापूर्वक लिइने स्पष्ट पारे। भेटवार्तामा प्रधानमन्त्री ओलीले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको भन्दै नीति निर्माणमा सहभागितासहित सुधारका सुझावलाई सम्मान गर्ने प्रतिबद्धता जनाए। अध्यक्ष ढकालले हवाई टिकट, हिरा–जवाहरात, युरो–५/६ सवारी, जलविद्युत परियोजना, विलासिता कर, एमआरपी, मेला महोत्सव लगायतका विषयमा प्रस्तुत सुझावहरू प्रधानमन्त्री समक्ष राखेका थिए। उनले विशेषगरी मूल्य अभिवृद्धि कर र विलासिता करको प्रभावले नेपाल महंगो गन्तव्य बन्न थालेको, व्यवसाय असहज बन्न थालेको उल्लेख गरे। त्यसैगरी, ढकालले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसँग पनि बजेट सम्वन्धी गम्भीर छलफल गरेका छन्। उनले भारत र बंगलादेशमा विद्युत निर्यात सुरु भइसकेको सन्दर्भमा विद्युत क्षेत्रमा दिइने कर छुटलाई २०९२ सम्म लम्ब्याउन आग्रह गरे। महासंघले स्टिलजन्य वस्तु, अन्तिम उत्पादनमा महसुल दर समायोजन, पुष्प व्यवसाय, एमआरपी, शत्रुजीव जोखिम विश्लेषण (PRA) प्रक्रिया सरल बनाउने विषयमा पनि सरकारको ध्यानाकर्षण गराएको छ। साथै, स्थानीय तहहरूद्वारा मेला महोत्सव ठेक्कामा दिने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै उद्योग वाणिज्य संघलाई मात्रै आयोजनाको अधिकार दिन आग्रह गरिएको छ।