काठमाडौं, जेठ २ — ‘सगरमाथा संवाद’। विश्वकै सर्वोच्च शिखर सगरमाथाको नामबाट आयोजित यस अन्तर्राष्ट्रिय संवादको उद्देश्य भनेको जलवायु परिवर्तनजस्तो विश्वव्यापी संकटमाथि साझा दृष्टिकोण निर्माण गर्नु हो। सोल्टी होटेल, ताहाचलमा सुरु भएको यो तीन दिने कार्यक्रम जेठ ४ गतेसम्म चल्नेछ। उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् भने परराष्ट्र मन्त्री आरजु राणा देउवाले स्वागत मन्तव्य दिनेछिन्। कार्यक्रम संयुक्त राष्ट्रसंघका महासचिवको भिडियो सन्देश, चीन र भारतलगायत विभिन्न मुलुकबाट आएका उच्चस्तरीय प्रतिनिधिहरूको सम्बोधनसहित भव्य रूपमा सुरु भएको हो। सगरमाथा संवाद कुनै औपचारिक सम्मेलन मात्र होइन, यो जलवायु न्याय र हिमाली पारिस्थितिकी प्रणालीमाथिको विचार विमर्शको खुला मञ्च हो। विश्वका १७५ भन्दा बढी विदेशी प्रतिनिधिहरूको सहभागितामा यो संवाद एक किसिमको चेतनाको यात्रा पनि हो — जुन सगरमाथा जस्ता संवेदनशील क्षेत्रहरूका लागि मात्र नभई सम्पूर्ण पृथ्वीको लागि सान्दर्भिक छ। नेपालको परराष्ट्र नीतिमा जलवायु परिवर्तनलाई प्राथमिकता दिने सरकारको पहलले सगरमाथा संवादलाई कूटनीतिक दृष्टिले पनि सशक्त बनाएको छ। विशेषगरी कोप २९ का अध्यक्ष तथा अजरबैजानका जलवायु विशेषदूतको सहभागिता र भारत–चीनजस्ता मुलुकहरूको उपस्थितिले यसलाई अन्तर्राष्ट्रिय चर्चाको केन्द्रमा ल्याएको छ। आजको पहिलो दिन उद्घाटन सत्रपश्चात् अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले आफ्ना धारणा राख्ने विशेष सत्र सञ्चालन भइरहेको छ, जसमा २३ प्रतिनिधिमण्डललाई ५–५ मिनेटको समय प्रदान गरिएको छ। जलवायु नीति, अनुकूलन रणनीति, र स्थानीय समुदायको दृष्टिकोणमाथि व्यापक विचारहरू प्रस्तुत हुने अपेक्षा गरिएको छ। कार्यक्रममा सहभागिहरूलाई सगरमाथा क्षेत्रको हवाइ अवलोकन भ्रमणको समेत आयोजना गरिएको छ, जसले संवादलाई व्यवहारिक र अनुभवमूलक बनाउनेछ। यस कदमले पर्यावरणीय संकटको स्थलगत अवलोकनमार्फत सहभागीहरूलाई अझ नजिकबाट प्रभाव अनुभूति गराउनेछ। नेपालले पहिलोपटक यति उच्चस्तरीय जलवायु केन्द्रित अन्तर्राष्ट्रिय बहसको आयोजना गरेर जलवायु नेतृत्वदायी भूमिकामा आफूलाई स्थापित गर्न खोजेको छ।