काठमाडौं, वैशाख २१ । बजारमा बढ्दो तरलता सन्तुलनमा ल्याउन नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ बजारबाट संकलन गर्ने तयारी गरेको छ। केन्द्रीय बैंकले यो रकम २१ दिनका लागि ‘निक्षेप संकलन उपकरण’मार्फत झिक्ने भएको हो। पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता देखिएको भन्दै राष्ट्र बैंकले सो अवस्था व्यवस्थापन गर्न शॉर्ट टर्म मौद्रिक उपकरणको प्रयोग गर्दै आएको छ। यसै सन्दर्भमा आजको बोलकबोल प्रणालीमार्फत रकम संकलन गरिनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म आवेदन दिनुपर्नेछ। निक्षेप संकलनमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड र अधिकतम ५ अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सक्नेछन्। निष्कासन रकम बराबर निःशेष भाग गर्ने गरी भाग लगाइने राष्ट्र बैंकले जनाएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’, र ‘ग’ वर्गमा सूचीकृत बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन्। यसरी संकलन गरिने रकमको साँवा र ब्याज आगामी २०८१ जेठ ११ गते भुक्तानी गरिनेछ।