काठमाडौं, २१ वैशाख – विकासको धुनमा सडक विस्तार त भइरहेको छ, तर न त धुलो नियन्त्रणमा छ, न त हिलो नियन्त्रणमा! शनिबार रातिदेखि परेको अविरल वर्षाले नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने क्षेत्र र काठमाडौं–हेटौंडा जोड्ने कान्तिलोकपथ पूर्ण रूपमा ठप्प हुँदा यात्रुहरु बिच बाटोमै अलपत्र परेका छन्। दाउन्ने क्षेत्रमा सडक विस्तारको काम चलिरहेका बेला परेको वर्षाले सडक हिलाम्मे र अत्यधिक चिप्लो बनेको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार, लगातार वर्षाले सडक सतह बिग्रिएर गाडी नै चिप्लिन थालेपछि यात्रा जोखिमपूर्ण बनेको हो। प्रहरीले तत्कालका लागि यात्रुहरुलाई उक्त खण्ड प्रयोग नगर्न र वैकल्पिक मार्ग रोज्न आग्रह गरेको छ। सडक विस्तार भइरहेका बेला वर्षा हुँदा हिलो र घाम लाग्दा धुलो हुने अवस्था बनेपछि यात्रुले ‘विकासको सास्ती’ झेल्न बाध्य भएका छन्। निर्माण कम्पनी र सरकारी संयन्त्रको समन्वय अभावका कारण सवारी साधन मात्र होइन, जनजीवनसमेत प्रभावित भइरहेको छ। दाउन्ने खण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द गरिँदै आएको भए पनि शनिबार रातिदेखिको लगातारको वर्षाले त्यो समयभन्दा बाहिर समेत सडक प्रयोग गर्न सकिने अवस्था छैन।