संघाई, १४ वैशाख – एक समय केवल चिनियाँ भाषा सिक्न भनेर संघाई पुगेका इन्जिनियर अनन्त सापकोटा अहिले चीनकै आर्थिक राजधानी संघाईमा आफ्नो पहिचान बनाउन सफल भएका छन्। सन् १९९९ मा भाषा अध्ययनका लागि पहिलोपटक संघाई पुगेका सापकोटाले त्यसबेलै भविष्यको संकेत पाएका थिए— संघाईमा सम्भावना अनन्त छन्।
केही समयको भाषा अध्ययनपछि नेपाल फर्किएका सापकोटा २००१ मा स्नातकोत्तर अध्ययनका लागि पुनः संघाई फर्किए। यसपटक उनी एक्लै थिएनन्, पत्नी सम्झना सापकोटासँगै थिए। यही फर्काइले सापकोटा परिवारको जीवनलाई नयाँ मोड दियो। नेपाल फर्कने योजना बोकेर आएका उनीहरू, संघाईको अवसरले मोहित भइ यहीँ बस्न निर्णय गरे।
अनन्त सापकोटाले संघाईका विभिन्न चिनियाँ तथा बहुराष्ट्रिय कम्पनीमा काम गर्दै अनुभव सँगाले र अन्ततः स्वतन्त्र परामर्शदाताको रुपमा आफ्नै पहिचान बनाएका छन्। उनले केही समय आफ्नो लगानीमा कस्मेटिक उत्पादनको व्यवसायसमेत सञ्चालन गरेका थिए। अहिले उनी स्वतन्त्र म्यानेजमेन्ट र इन्जिनियरिङ परामर्श सेवा दिइरहेका छन्।
उनकी पत्नी सम्झना सापकोटा पनि संघाईमा करिअर निर्माणमा लागिपरेकी छिन्। उनी अहिले संघाई लिभिङस्टोन अमेरिकन स्कुलमा म्यानेजर पदमा कार्यरत छन्। छोरा अध्ययनका लागि अमेरिकामा भए पनि परिवार बेलाबखत नेपाल आउजाउ गरिरहन्छ।
सन् १९९९ मा सामान्य शहर जस्तै देखिएको संघाई आज विश्वकै विकसित सहरमध्ये एक बनेको छ। १९९० सम्म सामान्य कृषि क्षेत्र रहेको संघाई आज विश्वको सबैभन्दा ठूलो मेट्रो रेल सञ्जाल भएको शहर हो। सापकोटा दम्पतीले संघाईको यति तीव्र विकास प्रत्यक्ष देख्न पाएका छन्।
अनन्त सापकोटाका अनुसार, चीनको दीर्घकालीन नीति, राजनीतिक स्थायीत्व र योजनाबद्ध विकास शैली नै संघाई जस्तै शहरलाई विश्व स्तरमा उभ्याउन सक्ने मुख्य कारण हुन्। उनी भन्छन्, “संघाईजस्तै विकास नेपालमा पनि होस् भन्ने हाम्रो चाहना हो।”
सापकोटा दम्पतीका अनुसार संघाई नेपाली विद्यार्थी र पेशाकर्मीका लागि अवसरले भरिएको शहर हो। गणित, विज्ञान र प्रविधिमा अध्ययनका लागि संघाई उत्कृष्ट गन्तव्य बनेको छ। कामका लागि आउनेहरूलाई कम्पनीअनुसार राम्रो सुविधा उपलब्ध भए पनि चिनियाँ भाषा ज्ञान अनिवार्य रहेको उनीहरूको अनुभव छ।
संघाईमा विदेशीलाई काम र व्यवसाय गर्न सहज बनाउने नीतिहरूले नेपाली युवाका लागि समेत नयाँ ढोका खोलिदिएको उनीहरू बताउँछन्। सम्झना भन्छिन्, “चीनले १९८४ मा लिएको खुला नीतिले हामीजस्ता विदेशी नागरिकलाई पनि चीनमा काम गर्न र भविष्य निर्माण गर्न सहज बनाएको हो।”
नेपालमै संघाईजस्तो योजनाबद्ध विकास देख्ने सपना बोकेका सापकोटा परिवार हालसम्म संघाईलाई आफ्नो दोस्रो घर बनाएर रमाइरहेका छन्। तर, उनीहरूको मन भने सधैं आफ्नो जन्मभूमि नेपालमै बाँधिएको छ।
लेखकको बारेमा

प्रतिक्रिया