+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

नगरकोटको पर्यटकीय सम्भावनाबाट समृद्धिको ढोका खोल्ने आह्वान: राष्ट्रपति पौडेलको

राष्ट्रपतिले नीति निर्माण, कानुनी सुधार र लगानीमैत्री वातावरण बनाउन राज्यको प्राथमिकता रहनुपर्नेमा जोड दिए। "न्यून आर्थिक वृद्धिको चक्रबाट अब बाहिर निस्कनुपर्छ," भनी उनले राज्य संयन्त्रलाई नीतिगत निर्णयमा गतिशीलता ल्याउन आग्रह गरे।

जनवाच
५ दिन अगाडी

नगरकोट, १ वैशाख — राष्ट्रपति रामचन्द्र पौडेलले नगरकोट भ्रमण वर्ष २०८२ को उद्घाटन गर्दै नेपाली अर्थतन्त्रको सुधारको प्रमुख चाबीको रूपमा पर्यटन क्षेत्रलाई अगाडि सारेका छन्।

अर्थतन्त्रको पुनरुत्थान र रोजगारी सिर्जनाको सवालमा पर्यटन, कृषि र उद्योगलाई मेरुदण्डको रूपमा चित्रण गर्दै उनले नगरकोटको समृद्ध सम्भावना औंल्याएका छन्।

“नगरकोट स्वदेशी र विदेशी पर्यटकको रोजाइमा पर्न थालेको छ,” उनले भने, “यसलाई पूर्वाधार, प्रवद्र्धन र सहज पहुँचमार्फत अझ समुन्नत गन्तव्य बनाउन स्थानीय, प्रदेश र संघीय तहको सहकार्य अपरिहार्य छ।”

राष्ट्रपतिले नगरकोटलाई न केवल सूर्योदय र हिमाल हेर्ने स्थल, तर इतिहास, धर्म र संस्कृतिको संगमका रूपमा प्रस्तुत गरे। चाँगुनारायण मन्दिरदेखि मन्जुश्री गुफा, शालीनदीदेखि बज्रयोगिनी मन्दिरसम्मको सम्पदा तथा पदमार्गहरूको विस्तारले यस क्षेत्रको पर्यटकीय गतिविधि थप चुलिएको उनले उल्लेख गरे।

“नगरकोट मात्र होइन, यसलाई केन्द्र मानेर चारवटा नगरपालिकाले सम्पदा प्रवद्र्धन गर्न थालेका छन्, जुन स्वागतयोग्य प्रयास हो,” उनले प्रशंसा गरे।

शान्ति, समावेशी समाज र आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको व्यावसायीकरण, पूर्वाधार निर्माण र बजारीकरण जरुरी रहेको राष्ट्रपति पौडेलको धारणा छ। “पर्यटकीय वस्तुको विकास र यसको लाभको समन्यायिक वितरणको सुनिश्चितता गर्नु अत्यावश्यक छ,” उनले भने।

साथै, उनले रोजगारी सिर्जना, प्रतिस्पर्धा प्रवर्धन र औद्योगिकरणको विस्तारलाई पनि आत्मनिर्भर अर्थतन्त्र निर्माणको आधार मानेका छन्।

नयाँ वर्ष २०८२ को अवसरमा राष्ट्रपति पौडेलले सबैलाई राष्ट्रनिर्माणको साझा यात्रामा हातेमालो गर्न आह्वान गरे। “संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै तीव्र विकासको आकांक्षा पूरा गर्नु हामी सबैको साझा जिम्मेवारी हो,” उनले भने।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ