काठमाडौँ – देशको केन्द्रीय बैंक, राष्ट्र बैंक, हाल गभर्नरविहीन अवस्थामा रहँदा आर्थिक स्थायित्वप्रति प्रश्न उठिरहेको छ। प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहले यही प्रसंगमा गम्भीर टिप्पणी गर्दै राजनीतिक भागबण्डाको खेलले गभर्नर नियुक्ति प्रक्रिया अलपत्र परेको आरोप लगाएका छन्।
राप्रपाले बल्खुमा आयोजना गरेको खबरदारी सभामा बोल्दै सिंहले हालको सत्ता गठबन्धनलाई ‘भागबण्डा केन्द्रित सरकार’ भन्दै आलोचना गरे।
‘देशको आर्थिक अवस्था नाजुक छ, तर सरकारले राष्ट्र बैंकमा गभर्नर नियुक्त गर्न एक महिनासम्म नसकेको स्थिति देखिन्छ,’ उनले भने, ‘कसले कति खाने भनेर गन्दै बस्दा राष्ट्रको आर्थिक मेरुदण्ड कमजोर बन्दै गएको छ।’
उनले सत्तारुढ दलहरू– नेपाली कांग्रेस र एमालेलाई लक्षित गर्दै भने, ‘गणनाको खेल भइरहेको छ, एमालेले कति खाने, काँग्रेसले कति भन्ने हिसाबले राष्ट्र बैंकजस्तो संवेदनशील संस्थालाई समेत दलगत भागबण्डाको थलो बनाइएको छ।’
सिंहको दाबी छ कि सरकारले भ्रष्टाचारलाई प्रश्रय दिँदै नालायकहरूलाई संरक्षण गरेको छ। उनले चेतावनी दिँदै भने, ‘यदि सरकारले आफ्नो आचरण नसुधार्ने हो भने नेपालले पनि बंगलादेश वा श्रीलङ्काको अवस्था भोग्नुपर्ने खतरा छ।’
राजनीतिक दलहरूबीचको शक्ति सन्तुलनको रस्साकस्सीले राष्ट्रको दीर्घकालीन वित्तीय नीति र नियमन प्रणाली प्रभावित भइरहेको संकेत यस घटनाले दिएको छ।