काठमाडौँ – रौतहटको वृन्दावन क्षेत्रमा अहिलेको दृश्य हेर्दा लाग्छ, जंगल होइन, खेतीको नयाँ विस्तार चलिरहेको छ। तर, यो विस्तार कानुनसम्मत नभई सरकारी वनक्षेत्र कब्जा गरेर भइरहेको छ।
खयरका रुख मासेर बगरलाई खेतमा रूपान्तरण गर्ने क्रम तीव्र बनेको छ। स्थानीय मात्र होइन, अन्य जिल्लाबाट आएका व्यक्तिहरूले समेत बगैँचा फँडानी गरी वनभूमिमा व्यक्तिगत स्वामित्व दाबी गर्न थालेका छन्।
यसै क्रममा आइतबार वृन्दावन–४ हरैया गाउँका बिल्टुराय यादवलाई वन फँडानीको आरोपमा डिभिजन वन कार्यालयले पक्राउ गरेको छ। उनले खुकुरी प्रयोग गरेर खयरघारी फँडानी गरेको अवस्थामा बल्लरीस्थित सब डिभिजन वन कार्यालयको गस्ती टोलीले नियन्त्रणमा लिएको वन कार्यालयका प्रमुख हेमन्तकुमार साहले जानकारी दिए।
यादवले बृन्दावन–१ स्थित खयरघारी क्षेत्रमा करीब ५ कठ्ठा जमिन कब्जा गरी व्यक्तिगत रूपमा खेत बनाउने प्रयास गरेको पाइएको छ। उनले खयरका झाडी र बुट्यान फाँडेर जग्गा खाली गरेका थिए।
यो गतिविधि पछिल्लो केही वर्षयता व्यापक रूपमा हुँदै आएको छ। बागमती नदीको बगर क्षेत्रमा खयर रुख कटानी गरी खेतीयोग्य जमिन बनाउने होड चलिरहेको स्थानीयहरू बताउँछन्।
डिभिजन वन कार्यालयको उदासीनताका कारण रौतहटको वन अधिग्रहित भूभागमा काभ्रे, मकवानपुर, सिन्धुलीलगायत जिल्लाबाट आएका मानिसहरूले हजारौँ हेक्टर जमिन कब्जा गरिसकेको छ।
सुरुमा झारपातमा आगो लगाइन्छ, त्यसपछि खयर लगायतका बहुमूल्य रुख काटिन्छन्। अन्ततः जमिन सम्याएर खेती गरिन्छ। यति सबै प्रक्रिया खुला आँखै अगाडि हुँदै आए पनि राज्य संयन्त्र अझै प्रभावकारी देखिएको छैन।
