२५ चैत, काठमाडौं – आज जहाँ बालुवाका विशाल टिब्बा, चर्को गर्मी र पानीको चरम अभाव देखिन्छ, त्यही अरबको भूमिमा हजारौं वर्षअघि भने हरियाली फस्टाएको थियो। हालै सार्वजनिक भएको एक वैज्ञानिक अनुसन्धानले यो अचम्मको सत्य उजागर गरेको छ—करीब ९ हजार वर्षअघि अरब भूमि हरियालीले ढाकिएको, नदी र तालहरूले भरिएको प्राकृतिक स्वर्गजस्तै रहेको थियो। ‘कम्युनिकेशन्स अर्थ एण्ड इन्भाइरोमेन्ट’ नामक वैज्ञानिक पत्रिकामा प्रकाशित रिपोर्टअनुसार प्रारम्भिक होलोसिन काल (करिब ११ हजार वर्षदेखि ५ हजार ५ सय वर्ष अघिसम्म) मा यहाँ अत्यधिक वर्षा हुन्थ्यो। यसको प्रमाण हालको मरुभूमिमा गाडिएको पुरानो अवशेषहरूको खोजमार्फत वैज्ञानिकहरूले फेला पारेका हुन् अनुसन्धानअनुसार करिब ९ हजार वर्षअघि सो क्षेत्रको एउटा ताल झण्डै ११०० वर्ग मिटर क्षेत्रफलमा फैलिएको थियो र यसको गहिराइ ४२ मिटरसम्म पुग्थ्यो। भारी वर्षाले तालको पानी सीमाना नाघ्दा, लगभग १५० किलोमिटर लामो विशाल उपत्यका निर्माण भएको पुष्टि गरिएको छ। यो जलवायु परिवर्तनको मूल कारक सूर्यको उज्यालोमा आएको परिवर्तन र अफ्रिकाबाट आएको शक्तिशाली मनसुन प्रणाली भएको वैज्ञानिकहरू बताउँछन्। अरब क्षेत्र आज जति शुष्क छ, त्यतिबेला त्यहाँ एकदम आर्द्र वातावरण थियो, जसले वनस्पति, जीवजन्तु र मानव बसोबासका लागि सहजता ल्याएको थियो। त्यो समयको वातावरणले मानव बस्तीहरूको विकासमा समेत ठूलो भूमिका खेलेको थियो। हरियालीका कारण शिकार, सङ्कलन र पशुपालन गर्ने मानिसहरूको संख्या बढेको देखिन्छ। यो सबै एउटा यस्तो स्थानमा भएको हो जुन आज संसारकै सबैभन्दा सुक्खा क्षेत्रमा गनिन्छ। यो ऐतिहासिक जलवायु परिवर्तनको अध्ययनमा डा. अब्दुल्ला जाकी, प्रोफेसर सेबास्टियन कास्टेलाटोर्ट, प्रोफेसर अब्दुलकादर अफिफी र प्रोफेसर माइकल पेट्राग्लियाजस्ता वैज्ञानिकहरूको योगदान उल्लेखनीय छ। उनीहरूले भूतपूर्व जलनिकायहरू, भू–आकृति र मानव जीवनशैलीको पुनर्निर्माणमा महत्वपूर्ण प्रमाण जुटाएका छन्।