काठमाडौं । जनस्वास्थ्य सेवामा सुधार ल्याउने नाममा काठमाडौं महानगरपालिकाले थालेको एम्बुलेन्स वितरण कार्यक्रम अहिले शंकाको घेरामा परेको छ। मेयर बालेन्द्र शाह (बालेन) को प्रत्यक्ष संलग्नता रहेको भन्दै उक्त खरिद प्रक्रियामा भ्रष्टाचार भएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा औपचारिक उजुरी दर्ता गरिएको छ।
दर्ता नम्बर C-040569 रहेको उक्त उजुरीमा मेयर बालेनसँगै उनका स्वकीय सचिव भुपदेव साह, खरिद इकाइ प्रमुख रामरतन शाह, र यस प्रक्रियासँग जोडिएका अन्य कर्मचारीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरिएको छ।
उजुरीअनुसार, पश्चिम नेपालका विभिन्न पालिकालाई ३५ वटा एम्बुलेन्स वितरण गर्ने योजना बालेनको निर्देशनमा ल्याइएको भए पनि प्रारम्भिक स्पेसिफिकेसन निर्माणदेखि लागत अनुमानसम्मकै चरणमा नै आर्थिक अनियमितता भएको दाबी गरिएको छ। विशेषतः स्वकीय सचिव साहले बोलपत्रदातासँग २१ मोडलको स्कर्पियो गाडी घुसस्वरूप लिने सहमति गरेको आरोप पत्रमा उल्लेख छ।
त्यसैगरी, बोलपत्र दस्तावेजमा सामान प्राप्त भएपछि मात्र भुक्तानी हुने स्पष्ट प्रावधान हुँदाहुँदै पनि सुरुमा नै भुक्तानी दिने सर्त महानगरले स्वीकार गरेको उजुरीमा उल्लेख छ, जसले सरकारी खरिद ऐन, २०६३ को दफा ५२(क) उल्लंघन गरेको बताइएको छ।
यसबाहेक, रामरतन शाहलाई खरिद इकाइ प्रमुख बनाउन ठेकेदारहरूले घुस दिएको आरोपसमेत उजुरीमा उल्लेख छ। उनले मूल्याङ्कन प्रक्रिया दोहोर्याएर महानगरलाई १ करोड २५ लाख रुपैयाँभन्दा बढीको क्षति पुर्याएको दाबी गरिएको छ।
महानगरले आर्थिक वर्ष २०८०/८१ को बजेटबाट ३५ वटा एम्बुलेन्स खरिद गरेर विभिन्न गाउँपालिकालाई सहयोग गर्ने योजना सार्वजनिक गरेको थियो। तर यो योजना अब सुशासनको उदाहरण बन्ने कि भ्रष्टाचारको अर्को अध्याय बन्ने भन्ने विषयमा चासो बढेको छ।