काठमाडौं । नेपालको वित्तीय क्षेत्र र शिक्षण संस्थाबीचको सहकार्य विस्तार हुँदै गएको सन्दर्भमा सांग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेज चाबहिलबीच दुई वर्षे रणनीतिक साझेदारी सम्झौता सम्पन्न भएको छ।
उक्त सम्झौता अनुसार अब सांग्रिला बैंकले कलेजका विद्यार्थीहरूलाई इन्टर्नसिप, स्थलगत अध्ययन भ्रमण तथा अन्य पेशागत सीप विकास कार्यक्रमहरूमा प्राथमिकता दिनेछ। विद्यार्थीले बैंकिङ क्षेत्रको प्रत्यक्ष अनुभव प्राप्त गर्न सक्ने यो अवसरले उनीहरूको करिअर विकासमा उल्लेखनीय टेवा पुर्याउने अपेक्षा गरिएको छ।
साझेदारी अन्तरगत बैंकले आयोजना गर्ने विविध कार्यक्रमहरूमा सेन्ट लरेन्स कलेजका विद्यार्थीको सक्रिय सहभागिता रहनेछ भने कलेजले आयोजना गर्ने जब फेयर जस्ता कार्यक्रमहरूमा बैंकको उपस्थिति रहनेछ।
शैक्षिक संस्थाले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानका साथै व्यवहारिक अनुभव दिलाउन यस्तो किसिमको सहकार्य अपरिहार्य भएको भन्दै दुबै संस्थाले यस सम्झौताबाट दीर्घकालीन लाभ लिने विश्वास व्यक्त गरेका छन्।