+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मनोरञ्जन

फिल्म ‘राजागंज’ सेन्सरमा रोकिँदा कलाकार र निर्देशक आक्रोशित

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट बाहिरिएका मधेशी दलहरूलाई ‘रुखबाट झरेका दुई-तीनटा आँप’ भनेको दृश्यका कारण फिल्म रोकिएको बताइएको छ।

जनवाच
१ महिना अगाडी

काठमाडौं । नेपाल बाहिर प्रदर्शन भइसकेको फिल्म ‘राजागंज’ नेपाली सेन्सर बोर्डको निर्णयका कारण अन्योलमा परेको छ। चैत १ गते प्रदर्शन हुने तयारीमा रहेको यो फिल्मलाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले अनुमति नदिएपछि निर्देशकसहित कलाकारहरू विरोधमा उत्रिएका छन्।

सोमबार सेन्सर प्रक्रियामा गएको फिल्मका केही दृश्य र संवादप्रति बोर्डले आपत्ति जनाउँदै परिमार्जन गर्न निर्देशन दिएको छ। विशेष गरी, २०७२ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट बाहिरिएका मधेशी दलहरूलाई ‘रुखबाट झरेका दुई-तीनटा आँप’ भनेको दृश्यका कारण फिल्म रोकिएको बताइएको छ। उक्त संवाद हटाउनु पर्ने वा प्रधानमन्त्रीको कार्यालयबाट आधिकारिक अनुमति ल्याउनुपर्ने सर्त सेन्सर बोर्डले राखेको छ।

यसैगरी, प्रधानमन्त्री, कालो-गोरो जस्ता शब्द प्रयोग नगर्न पनि निर्देशन दिइएको छ। निर्देशक दीपक रौनियारका अनुसार, फिल्मको प्रिमियर शो बुधबार कमलपोखरीस्थित बिग मुभिजमा तय गरिए पनि सेन्सर प्रक्रिया अपूर्ण भएकाले प्रदर्शन अन्योलमा परेको छ।

सेन्सर बोर्डको निर्णयलाई लिएर कलाकार, निर्माता तथा निर्देशकहरूले तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।

दीपक राज गिरीले सामाजिक सञ्जालमा व्यंग्य गर्दै लेखेका छन्, “सर! सुन्नुस न सर! जे भन्नु हुन्छ त्यो काट्छु सर! रिलिज डेट नै फिक्स भइसकेको छ सर! हो, यसरी ‘सर’ का ‘सर’ लगाएकै कारण सेन्सर भएको हो! मिलेर विरोध गरौं।”

त्यस्तै, निर्देशक तथा कलाकार निश्चल बस्नेतले सेन्सर बोर्डको योग्यता माथि नै प्रश्न उठाउँदै भनेका छन्, “सेन्सर बोर्डको सदस्य हुने योग्यता के हो? डिस्क्लेमर नबुझ्ने, फिल्मका सबै दृश्यलाई वास्तविकता ठान्ने, फिक्सनको अर्थ नबुझ्ने? फिल्म जति नै रियालिस्टिक भए पनि त्यो वास्तविक हुँदैन, यो त कलाको माध्यम हो। आर्ट नबुझ्नेहरू फिल्म सेन्सर गर्न बसेका छन्।”

फिल्मकर्मी मनोज पण्डितले भने, “नेपालमा अब राजनीतिक विषयमा फिल्म नै बन्न नसक्ने स्थिति आइसकेको छ, जबकि देशका सबै प्रमुख समस्याहरू राजनीति केन्द्रित छन्।”

फिल्म सेन्सर हुनुअघि नै देशका विभिन्न सहरहरू—इटहरी, विर्तामोड, जनकपुर, चितवन आदि स्थानमा ‘राजागंज’ को प्रिमियर भइसकेको थियो। तर, सेन्सर बोर्डको यो निर्णयले नेपाली फिल्म उद्योगमा अभिव्यक्ति स्वतन्त्रताको सीमारेखा खुम्चिएको भन्दै फिल्मकर्मीहरू असन्तुष्ट देखिएका छन

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ