काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको रोमाञ्चक खेलमा गेटाफेले एटलेटिको म्याड्रिडलाई २-१ गोल अन्तरले पराजित गरेको छ। खेलको अन्तिम समयमा दुई गोल गर्दै गेटाफेले नाटकीय जित हासिल गरेको हो।
खेलको ७५औं मिनेटमा एलेक्जान्डर सोरलोथको गोलमार्फत एटलेटिको म्याड्रिडले अग्रता लिएको थियो। तर, ८८औं मिनेटमा माउरो अरामबारीले गेटाफेका लागि बराबरी गोल गरे। इन्जुरी समयमा (९२औं मिनेट) उनले दोस्रो गोल गर्दै गेटाफेलाई बहुमूल्य तीन अंक दिलाए।
एटलेटिको म्याड्रिडका लागि खेल झनै कठिन बनेको थियो जब ८८औं मिनेटमा एन्जल कोरियाले रातो कार्ड पाएर टोली १० खेलाडीमा सीमित भयो।
यो हारपछि एटलेटिको म्याड्रिड २७ खेलबाट ५६ अंकसहित लिगको दोस्रो स्थानमा कायम छ भने गेटाफे ३३ अंकसहित ११औं स्थानमा उक्लिएको छ।