काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्स प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले एक विशेष समारोहबीच बिदाइ गरेका छन् ।
मार्च ७ देखि १४ सम्म सञ्चालन हुने उक्त प्रतिष्ठित प्रतियोगितामा ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली सहभागी हुँदैछ । नेपालबाट ५ पुरुष र १ महिला खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा पुरुष ४०० मिटर दौडमा नवराज कार्की, ४०० मिटर दौड तथा ज्याभ्लिन थ्रोमा गोविन्द गिरी, सटपुटमा हिमाल अर्याल र फणिनारायण पौडेल, डिस्कस थ्रोमा राजु गुरुङ, तथा महिला २००-४०० मिटर दौड र लङ जम्पमा प्रभा आङदेम्बेले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
टोलीसँगै राखेपकी सदस्य अञ्जना श्रेष्ठ, मुक्तिनाथ अधिकारी, व्यवस्थापक ओमनाथ सिवाकोटी र प्रशिक्षक विमला राना मगर समेत सहभागी छन् ।
विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्स जस्तो ठुलो प्रतियोगितामा नेपालको सहभागिता महत्वपूर्ण मानिएको छ । नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै देशको नाम उच्च राख्ने विश्वास गरिएको छ ।