+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

अलैँची व्यवसायको संकट: व्यवसायीको आवाज सरकारसम्म, समाधान खोज्ने प्रतिवद्धता

जनवाच
१ महिना अगाडी

काठमाडौं । नेपालका अलैँची व्यवसायीहरू हाल व्यवसायिक संकटको सामना गरिरहेका छन्। उत्पादन घट्दै गएको, निर्यातमा देखिएको जटिलता, र बिमा प्रणालीको अभावका कारण व्यवसायीहरू अप्ठ्यारोमा परेका छन्। यसै सन्दर्भमा नेपाल अलैँची व्यवसायी महासंघका प्रतिनिधिहरूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग भेट गरी समस्या समाधानका लागि गम्भीर पहल गर्न आग्रह गरेका छन्।

महासंघका अध्यक्ष निर्मल भट्टराईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अलैँची व्यवसायमा देखा परेका नीतिगत र व्यवहारिक समस्याबारे जानकारी गराउँदै सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्यायो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारीले नेपालमै अलैँचीको खपत बढाउने नीति ल्याउने प्रतिबद्धता जनाउँदै, निर्यातका क्रममा देखिएका बाधाहरू हटाउन सरकार गम्भीर रहेको बताए। विशेष गरी ल्याब परीक्षण प्रक्रियामा देखिएको जटिलता हटाउने, व्यवसायमैत्री नीति लागू गर्ने, र बिक्री अनुमति प्रक्रियालाई सरल बनाउने विषयमा सरकारको ध्यान जाने उनको भनाइ थियो।

अलैँची उत्पादन पछिल्ला वर्षहरूमा तीव्र रूपमा घट्दै गएको तथ्यांक महासंघले कृषि मन्त्री अधिकारीसमक्ष प्रस्तुत गर्यो। महासंघका अनुसार पछिल्ला दुई वर्षमा क्रमशः ५० प्रतिशत र २० प्रतिशतले उत्पादन घटेको छ। मन्त्री अधिकारीले प्रविधि हस्तान्तरण, टिस्यु कल्चर प्रवर्द्धन, किसानलाई आवश्यक सहयोग, र सिँचाइ सुविधामा सुधार ल्याउन सरकार प्रतिबद्ध रहेको बताए।

बिमा प्रणाली सहज नहुँदा व्यवसायीहरू थप समस्यामा परेको भन्दै महासंघले बिमा प्रक्रियालाई सरल बनाउन माग गरेको छ। व्यवसायीहरूका अनुसार केही बिमा कम्पनीहरू अलैँची खेतीको बिमा गर्न अनिच्छुक छन्, जसले गर्दा किसानहरू जोखिममा परिरहेका छन्। मन्त्री अधिकारीले आगामी बजेटमार्फत यस विषयलाई सम्बोधन गर्ने आश्वासन दिए।

नेपालका ४३ जिल्लामा व्यावसायिक रूपमा अलैँची खेती भइरहेको छ भने थप ५३ जिल्लामा यसको सम्भावना रहेको महासंघको तथ्यांक छ। हाल करिब १ लाख २५ हजार किसान यो व्यवसायमा संलग्न छन्, जसबाट वार्षिक ५ देखि ८ अर्ब रुपैयाँ वैदेशिक मुद्रा आर्जन भइरहेको छ।

सरकारसँगको यस भेटलाई महासंघले सकारात्मक रूपमा लिएको छ। महासंघले आफ्ना मागहरू पूरा गराउन निरन्तर दबाब दिने र ठोस कार्यान्वयन सुनिश्चित गराउने प्रतिबद्धता जनाएको छ। भेटघाटमा महासंघका निवर्तमान अध्यक्ष राजकुमार कार्की, महासचिव नारायण चिमोरियाँ, केन्द्रिय सदस्य कुशुम दाहाल, इन्द्र तामाङ, निर्यातकर्ता तथा सल्लाहकार बस्नत बंमशलगायत विभिन्न पदाधिकारीको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ