काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र जापानबीचको सम्बन्ध अब व्यापारिक साझेदारीतर्फ विस्तार भई आयात–निर्यात क्षेत्रमा उल्लेखनीय प्रगति देखिन थालेको बताएका छन् । तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ मा सहभागी जापानी टोली र नेपाली समन्वयकर्तासँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले दुई देशबीचको मित्रता बलियो हुँदै गएको उल्लेख गरे । प्रधानमन्त्री ओलीले नेपालबाट जापानमा नेपाली श्रमिकको बढ्दो रोजगारी अवसर, फापरको निर्यात, र जापानबाट नेपालमा गोल्डेन ट्राउड माछाको आयात जस्ता उदाहरण दिँदै व्यापारिक सम्बन्ध अझ विस्तार हुने विश्वास व्यक्त गरे । “हाम्रो मित्रता साकुरा फूलझैं सुन्दर र समस्यारहित छ,” भन्दै बयानगरे । प्रधानमन्त्री ओलीले जापानको विकास यात्रालाई उदाहरण दिँदै युद्ध विनाशकारी भए पनि शान्तिले समृद्धि ल्याउने सन्देश जापानले दिएको बताए । साथै, सूचना प्रविधिको सहयोगमा नेपाल–जापान सम्बन्धलाई अझ उचाइमा पुर्याउनु आवश्यक रहेकोमा जोडदिए ।