+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

माओवादी केन्द्रको जागरण अभियान : मोरङमा सहिद परिवारसँग संवाद

जनवाच
१ महिना अगाडी

काठमाडौं – नेकपा माओवादी केन्द्रले हिजोदेखि सुरु गरेको “जनतासँग माओवादी, तराई-मधेस जागरण अभियान” दोस्रो दिन मोरङ पुगेको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको केन्द्रीय टोलीले सहिद परिवारसँग भेटघाट गर्दै अभियानलाई अघि बढाएको छ।

माओवादी नेताहरूले मोरङको कानेपोखरी गाउँपालिका–६ नर्सरीडाँडास्थित सहिद लक्ष्मी फुयालको घरमा पुगेर सहिद परिवारसँग भेटघाट गरे।

अध्यक्ष प्रचण्डले जनयुद्धका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिएको उल्लेख गर्दै, सत्यनिरूपण तथा मेलमिलाप आयोगमार्फत पीडित परिवारलाई न्याय दिने प्रतिबद्धता दोहोर्‍याए।

सहिद परिवारका सदस्यहरूले पार्टीलाई अझ बलियो बनाउनु पर्ने, सहिदहरूको सपना पूरा गर्नुपर्ने, सहिद स्मृति दिवस औपचारिक रूपमा मनाइनुपर्ने र सहिद गाउँहरूमा स्मारक निर्माण गरिनुपर्ने सुझाव दिए।

अभियानअन्तर्गत “एक दिन, एक जिल्ला, तीन मुख्य कार्यक्रम” को अवधारणाअनुसार मोरङमा पनि तीन स्थानमा सभा आयोजना गरिएको छ। कानेपोखरीको रमाइलो बजार, आमबारी रतुवामाई, तथा कर्सिया धनपालथानमा जनसभाहरू हुनेछन्।

माओवादी केन्द्रले यो अभियान संगठन सुदृढीकरण, जनताको भावना बुझ्ने, विगतका उपलब्धिहरू स्मरण गर्ने र भविष्यका रणनीति निर्माण गर्ने उद्देश्यले थालेको हो। तराई-मधेसका जिल्लामा केन्द्रित अभियानले स्थानीयस्तरमा राजनीतिक सक्रियता बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ