काठमाण्डौ ।
आर्थिक वर्ष २०७९–८० को तुलनामा २०८०–८१ मा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ । २०७९–८० मा सात लाख ७१ हजार ३ सय २७ जनाले श्रम स्वीकृति लिएकोमा २०८०–८१ मा सात लाख ४१ हजार ३ सय ९७ जनाले श्रम स्वीकृति लिएका छन् ।
२०७९–८० को तुलनामा २०८०–८१ मा २९ हजार ९ सय ३० अर्थात् ३.८८ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको तुलनामा किन घट्यो वैदेशिक रोजगारीमा जानेको संख्या ?
वैदेशिक रोजगार विभागका निर्देशक गुरूदत्त सुवेदी मलेसियाले आप्रवासी श्रमिक लैजान बन्द गरेका कारण पनि संख्यामा केही कमी आएको बताउँछन् ।
आर्थिक वर्ष २०७९–८० मा पनि मलेसिया धेरै श्रमिक मलेसिया गएका थिए । मलेसियाका लागि दुई लाख ५९ हजार ५ सय ९४ जनाले श्रम स्वीकृति लिएका थिए । यो कुल संख्याको ३३.६५ प्रतिशत थियो ।
तर, यतिबेला मलेसियाले आप्रवासी श्रमिक लिएको छैन । कुल श्रमिकको १५ प्रतिशत मात्रै आप्रवासी श्रमिक राख्ने नीतिका कारण मलेसियाले २०२३ मार्चदेखि नै विदेशी कामदारको भर्नामा रोक लगाएको हो। जसले गर्दा नै श्रम स्वीकृतिमा कमी आएको उनको भनाइ छ ।
मलेसियाले अब कहिलेदेखि लैजाने भन्ने निर्णय गरिसकेको छैन । अहिले बरू थोरै श्रमिक पठाउने तर सुरक्षित र राम्रो कमाइ हुने मुलुकमा पठाउने भन्ने पनि छ । सीपयुक्त श्रमिक पठाउनेतिर पनि जोड दिन थालिएको छ, जसले गर्दा पनि कमी आएको हुन सकेको निर्देशक सुवेदीले बताए ।
उनले आन्तरिक श्रम बजारमै पनि रोजगारीका सम्भावना बढ्दै गएका कारण पनि जानेको संख्यामा कमी आएको बताए ।
म्यानपावर व्यवसायी ऋषि शर्मा अघिल्ला वर्षहरूमा वैदेशिक रोजगारीमा जाने अनि फर्किहाल्ने र पुनः श्रम स्वीकृति लिने गर्दा वैदेशिक रोजगारीमा जानेको संख्या धैरै जस्तो देखिएको बताउँछन् ।
ुअहिले पनि त्यस्तो घटेको छैन । प्रविधिको जमाना छ । भिडिओबाट कुरा गर्दा नजिकै भएजस्तो महसुस हुँदा पनि गएर फर्किहाल्ने धेरै छैनन् । जसले गर्दा कमी भएको जस्तो देखिएको उनले बताए ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार २०७९–८० मा वैदेशिक रोजगारमा जानेको संख्या आर्थिक वर्ष २०६५–६६ यताकै उच्च थियो । आर्थिक वर्ष २०६५–६६ मा दुई लाख १९ हजार ९ सय ६५ जना गएका थिए ।
२०६६–६७ मा दुई लाख ९४ हजार ९४ जना, २०६७–६८ मा तीन लाख ५४ हजार ७ सय १६ जना र २०६८–६९ मा तीन लाख ८४ हजार ६ सय ६५ जना विदेशिएका थिए ।
आर्थिक वर्ष २०६९–७० मा यो संख्या बढेर चार लाख ५० हजार ८ सय ८९ पुगेको थियो । २०७०–७१ मा पाँच लाख २७ हजार ८ सय १४ ले श्रम स्वीकृति लिएका थिए । २०७१–७२ मा भने यो संख्या केही घटेको थियो । उक्त वर्ष चार लाख ९९ हजार १ सय २ युवा कामको खोजीमा विदेशिएका थिए।
त्यसपछि भूकम्पका कारण वैदेशिक रोजगारमा जानेको संख्या घटेको थियो। आर्थिक वर्ष २०७२–७३ मा चार लाख तीन हजार १ सय ७४ जना, २०७३–७४ मा तीन लाख ८३ हजार ४ सय ९३ र २०७४–७५ तीन लाख ५४ हजार ८२ जना विदेशिएका थिए ।
आर्थिक वर्ष २०७५–७६ संख्या अझ घट्न थालेको देखिन्छ। उक्त वर्ष दुई लाख ३६ हजार २ सय ८ जना कामको खोजीमा विदेश पुगेको देखिन्छ ।
२०७६–७७ कोभिड महामारीका कारण वैदेशिक रोजगारमा जानेको संख्या अझै धेरै घट्यो । उक्त वर्ष एक लाख ९० हजार ४ सय ५३ जना कामको खोजीमा विदेशिएका थिए । २०७७–७८ कोभिडको प्रभाव अझ देखियो । उक्त वर्ष ७२ हजार ८१ जना मात्रै गएका थिए ।
२०७८–७९ मा कोभिड महामारीको अवस्था केही सामान्य बन्दै गएपछि भने विदेश जानेको संख्या अत्यधिक देखिएको हो । २०७८–७९ मा ६ लाख ३० हजार ९७ युवा कामको खोजीमा विदेशिएका थिए । त्यसयताका वर्षमा ७ लाख नाघ्न थालेको हो ।